‘टप थ्री ब्राण्ड’ले कति ल्याए विद्युतीय कार, यस्तो छ मोडल अनुसारको आयात

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा बीवाइडी, टाटा र एमजीले सबैभन्दा धेरै विद्युतीय कार (ईभी) आयात गरेका छन् ।

ईभीको बढ्दो मागसँगै बजारमा सुहाउँदो मोडलहरू उपलब्ध गराएका तीन ब्राण्डले कुल ईभी आयातको ७७ प्रतिशत हिस्सा ओगटेका हुन् ।

गत वर्ष कुल ११ हजार ७०१ युनिट चार पाङ्ग्रे ईभी आयात हुँदा यी तीन ब्राण्डका मात्रै ७ हजार ७३३ युनिट आयात भएका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा ठूलो छलाङ बीवाइडीले लगाएको छ । चिनियाँ न्यू इनर्जी भेहिकलमा जाइन्ट बनेको बीवाइडीले नेपालमा ईभीको ४१ प्रतिशत बजार हिस्सा लिन सफल भएको छ । बीवाइडीका कारहरू साइमेक्स इंक प्रालिले बिक्री गर्दै आएको छ ।

विद्युतीय कारलाई मास मार्केटमा फैलाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको टाटाले २४ प्रतिशत बजार हिस्सा ओगट्दा तेस्रो स्थानमा रहेको एमजीले १२ प्रतिशत बजार लिन सफल भएको छ । एमजीले आफ्नो जेडएस ईभी मार्फत २०१९ देखि धेरैको मन जित्दै आएको छ ।

गतवर्ष कुल ११ हजार ७०१ युनिट विद्युतीय चार पाङ्ग्रे आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ । त्यसमध्ये ९ सिट क्षमताका १ हजार ६५६ युनिट विद्युतीय माइक्रो बस आयात भएका छन् । जुन प्यासेन्जर कार सेग्मेन्टमै गणना भएको छ । समग्रमा गत आर्थिक वर्षमा विद्युतीय कारको आयात १० हजार ४४ युनिट मात्रै हो ।

तेस्रो भयो एमजी

बजार साइज बढेसँगै एमजी तेस्रो बनेको छ । तर, उसको आयात अघिल्लो वर्षकै हाराहारी भएको देखिन्छ । पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी ७१३ युनिट आयात गरेको देखिन्छ ।

त्यसैगरी एमजी फोर २९१ युनिट र एमजी कोमेट २०७ युनिट आयात गरेको कम्पनीले कुल १ हजार २११ युनिट विद्युतीय कार आयात गरेको छ । समग्रमा कम्पनीको आयात कुल आयातको १२ प्रतिशत हो ।

दोस्रोमा टाटा

आर्थिक वर्ष २०७९/८० मा पहिलो स्थानमा रहेको टाटा गत आर्थिक वर्षमा दोस्रो स्थानमा झरेको छ । यद्यपि, कम्पनीको आयात भने अघिल्लो वर्षको जति नै छ । बजार साइजमा भएको वृद्धिसँगै टाटाको गाडी आयात भने कमी भएको हो । सिप्रदी ट्रेडिङले एक वर्षमा २ हजार ४२६ युनिट विद्युतीय कार आयात गरेको देखिन्छ ।

कम्पनीले गरेको आयातमा सबैभन्दा धेरै इलेक्ट्रीक ह्याचब्याक टियागो रहेको छ । बजेट कारमा फिचर लोडेड भएको टियागो एक वर्षमा १ हजार ७०१ युनिट आयात भएको छ । साथै, टिगोर ईभीको आयात ४९८ युनिट हुँदा नेक्सन ईभी २३७ युनिट आयात भएको हो ।

पहिलो बन्यो बीवाइडी

एटो-थ्री र डल्फीन दुई मोडलको सहायताले बीवाइडी सर्वाधिक कार आयात गर्ने ब्राण्ड बनेको छ । कम्पनीले एक वर्षको अवधिमा ४ हजार ९१ युनिट कार आयात गरेको देखिन्छ ।

बीवाइडीको आयातमा एटो-थ्री २ हजार ८३१ युनिट र डल्फिन १ हजार २६० युनिट रहेको छ । समग्र विद्युतीय कार आयातको ४१ प्रतिशत हिस्सा बीवाइडी एक्लैले ओगटेको छ । कम्पनीले सिल सेडानको आयात ४ यूनिट गरेको छ ।


Back_to_top