टोयोटाले ईभी बिक्री बढाउन ल्यायो अफर, उपभोक्तालाई फाइदै फाइदा

काठमाडौं । अमेरिकी बजारमा विद्युतीय गाडी (ईभी)को प्रतिस्पर्धा तीव्र बन्दै जाँदा टोयोटाले आफ्ना नयाँ बीजेड इलेक्ट्रिक क्रसओभरको बिक्री बढाउन आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानो ईभी साटेर नयाँ टोयोटा बीजेड खरिद गर्ने ग्राहकलाई ३ हजार अमेरिकी डलरसम्म छुट दिने घोषणा गरेको हो ।

यो अफर विशेष गरी क्यालिफोर्निया राज्यका ग्राहकका लागि लागू गरिएको छ। तर, सबै ईभी मालिकले यो सुविधा पाउने छैनन् । सन् २०२० देखि २०२३ बीच उत्पादन भएका केही ब्राण्डका ईभी मोडलले मात्र यो छुट पाउनेछन् ।

कम्पनीले अफर गरेको स्कीम पाउन योग्य मोडलहरूमा फोर्ड म्याक ई, हुन्डाई आयोनीक फाइभ, किया ईभी सिक्स, निशान लिफ, टेस्ला मोडल थ्री, टेस्ला मोडल वाइ र फक्सवागेन आइडी फोर मोडल हुनुपर्छ । यी गाडीसँग साट्ने उपभोक्ताले छुट पाउने छन् ।

क्यालिफोर्निया बाहेक अन्य अमेरिकी राज्यमा पनि टोयोटाले विभिन्न वित्तीय सुविधा घोषणा गरेको छ । कम्पनीले ७२ महिनासम्म ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ । साथै ४ हजार डलरसम्म ‘लिज क्यास’ उपलब्ध हुने व्यवस्था गरेको छ । जसअनुसार ३६ महिनाको लिज मासिक ३४९ डलरबाट सुरु हुन्छ । जहाँ डाउन पेमेन्ट पनि जोडिएको हुन्छ ।

यसका अलावा सैन्य सेवामा रहेका व्यक्तिले ७५० डलर र हालै कलेज पूरा गरेका ग्राहकले ५०० डलर अतिरिक्त छुट पाउने टोयोटाले जनाएको छ ।

टोयोटाको नयाँ बीजेड मोडलले बजारमा राम्रो प्रतिक्रिया पाउन थालेको छ। कम्पनीले सन् २०२६ को पहिलो ६ महिनामा अमेरिकी बजारमा मात्रै १७ हजार ५५३ युनिट बीजेड बिक्री गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा करिब दोब्बर हो ।

यसको लोकप्रियताको मुख्य कारण नयाँ संस्करणमा गरिएको सुधारलाई मानिएको छ। नयाँ टोयोटा बीजेडमा अघिल्लो संशकरणभन्दा लामो ड्राइभिङ रेन्ज, छिटो चार्जिङ क्षमता तथा थप परिष्कृत डिजाइन र प्याकेजिङ उपलब्ध छ ।

बढ्दो प्रतिस्पर्धाबीच टोयोटाले छुट, कम ब्याजदर र लिज योजनामार्फत नयाँ ग्राहक आकर्षित गर्ने रणनीति अपनाएको देखिन्छ । विशेषगरी टेस्ला, हुन्डाई, किया र फोर्डजस्ता ब्रान्डका ईभी प्रयोगकर्तालाई आफ्नो ब्रान्डतर्फ तान्ने उद्देश्यले कम्पनीले यस्तो ‘कन्क्वेस्ट’ अफर ल्याएको हो ।


Back_to_top