टोयोटाको इलेक्ट्रीक सेडान ‘बीजेड सेभेन’ सार्वजनिक

काठमाडौं । जापानी अटोमोबाइल जाइन्ट टोयोटाले आफ्नो इलेक्ट्रीक सेडान बीजेड सेभेन चीनमा सार्वजनिक गरेको छ । कम्पनीले चीनको ग्वाङ्झाओ सहरमा चलिरहेको ‘ग्वाङ्झाओ अटो शो’मा बीजेड सेभेन प्रदर्शनी गरेको हो ।

टोयोटाले चीनमै डिजाइन गरेको नयाँ मोडल बीजेड सेभेनको लम्बाइ ५१३० मिलिमिटर छ । यसको चौडाइ १९६५ मिलिमिटर र उचाइ १५०० मिलिमिटर रहेको छ । यसमा ह्वीलबेस पनि ३०२० मिलिमिटर लामो छ ।

चीनमा प्रिमियम सेडान कारको बजार अझै निकै बलियो मानिन्छ । त्यसैले प्रिमियम सेग्मेन्टमै राखेर टोयोटाले बीजेड सेभेन बिक्री गर्ने योजना बनाएको छ । जापानी उत्पादकले यसमा हुवावेले बनाएको २०७ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग गरेको छ । यसको टप स्पीड क्षमता १८० किलोमिटर प्रतिघन्टा हुनेछ ।

चिनियाँ ब्याट्री उत्पादक कम्पनी ‘सीएएलबी’ले उत्पादन गरेको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग भएको जानकारी दिएपनि कम्पनीले ब्याट्री साइजको बिषयमा भने जानकारी दिएको छैन । प्रिमियम सेग्मेन्टमा ल्याएको कारण यसको मूल्य पनि २८ हजार अमेरिकी डलर आसपास रहने अनुमान गरिएको छ ।


Back_to_top