बीपी राजमार्गको स्थायी पुनर्निर्माण सुरू, २ वर्षमा सक्ने

काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको स्थायी पुनःनिर्माण सुरू भएको छ । हाल अस्थायी निर्माण गरी संचालनमा ल्याइएको क्षतिग्रस्त सडकलाई चार खण्डमा ठेक्का लगाई पुनर्निर्माणको काम थालिएको हो ।

२०८१ र २०८२ असोजमा आएको बाढीले बीपी राजमार्गको साढे ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सो मध्ये २७.५ किमीलाई सडकलाई काभ्रेतर्फ तीन र सिनधुलीतर्फ एक गरी चार प्याकेजमा ठेक्का लगाई स्थायी निर्माण थालिएको हो । बाँकी ३.२ किमी खण्डभने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएकाले ठेक्का लगाइएको छैन ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार चार खण्डको स्थायी पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको हो । कार्यालयका प्रमुख सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दी लगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरू गरिएको जानकारी दिए ।

उनले यो सडकको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने उनले बताए । ‘निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरूवातदेखि नै स्याथी पुनर्निर्माण थालिएको छ । अहिले चौकीडाँडा, मङ्गलटार, नार्के गिम्दी लगायत ठाउँमा धमाधम काम भइरहेको छ,’ उनले भने ।

यस्तै, सुननिर्माण गरिने क्षेत्रमा सडकसँगै पुल पनि दुई लेनको बनाइने छ । उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ ।

डालाबेंसीदेखि चारसयबेँसीसम्म ८.५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्नेगरी ठेक्का पाएको छ ।

त्यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई १ अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो ।

नेपालथोकदेखि बर्खेखोलासम्म ४.९ किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

पिप्लेदेखि डालाबेसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एण्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग गत कात्तिकमा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ रहेको सडक डिभिजन प्रमुख योगेशले बताए ।

बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक भने जापान जाइकाले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३र५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरू गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

बीपी केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।


Back_to_top