४ करोड ५२ लाखको टोयोटा ल्यान्ड क्रुजरमा के छ खास ?

काठमाडौं । विशेषत, ठूला उद्योगपति, व्यवसायी, राजनीतिक दलका नेताको रोजाईमा पर्ने  ल्यान्ड क्रुजर टोयोटा ब्राण्डकै सबैभन्दा महङ्गो एसयूभी हो । नेपाली बजारमा ४ करोड ५२ लाख रुपैयाँको ल्यान्ड क्रुजर एलसी २०० भिएक्स आर वर्षमा दुईदेखि चार युनिटसम्म बिक्री हुने गरेको टोयोटाको नेपालको लागि आधिकारीक वितरक यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले जानकारी दिएको छ । 

यो ल्यान्ड क्रुजरमा ४४६१ सीसीको इन्जिन लगाइएको छ भने, यसको टपस्पीड क्षमता प्रतिघन्टा १९० किलोमिटर रहेको छ । २२५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो एसयूभी अफरोड ड्राइभिङलाई मध्यनजर गर्दै निर्माण गरिएको हो ।

यसमा लगाइएको पावरफूल इन्जिनले ३४ सय आरपीएममा २६१.४ बीएच पावर उत्पादन गर्छ भने, १६ सय देखि २६ सय आरपीएममा ६५० एनएम टर्क उत्पादनको क्षमता राख्छ । यसमा ६ स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ । पावर फुल गाडी भएकै कारण यसमा  ९३ लिटर क्षमताको फिउल ट्यांकी लगाइएको छ ।

यस एसयूभीमा स्टेयरिंग माउन्टेड कन्ट्रोल, रियर एसी भेन्ट, रिमोट फ्युल फिलर, रियर बेल्ट, क्रुज कन्ट्रोल, एबीएस, इबीडी, भीएसएम, प्रोजेक्टर हेडल्याम्प लगायतका प्रिमियम विशेषता दिइएको छ । 

चालक तथा प्यासेन्जरको सुरक्षालाई मध्यनजर गर्दै यसमा दश ओटा एसआरएस एयरब्याग जडान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा ल्यान्डक्रुजर भिएक्स आर र भिएक्स प्रिमियम गरि दुई भेरियन्टमा बिक्री भइरहेको छ ।

ल्यान्ड क्रुजरको लम्बाई ४९५० एमएम, चौडाई १९८० एमएम, उचाई १९१० एमएम रहेको छ भने २८५० एमएमको ह्वीलवेश दिइएको छ । 

यसको  फ्रन्ट र रियरमा भेन्टीलेट डिस्क ब्रेक लगाइएको छ । रियर एसी भेन्ट, पावर विन्डो, क्लाइमेट कन्ट्रोल लगायतका प्रिमियम फिचर भएका कारण यसको मूूल्य उच्च भएको कम्पनी बताउँछ ।

मन्त्रीको रोजाइमा ल्यान्डक्रुजर प्राडो

टोेयोटाले नेपाली बजारमा एक  करोड माथिका १० ओटा कार बिक्री गर्दै आएको छ । ती मध्ये मन्त्री तथा कर्मचारीको विशेष रोजाइमा पर्ने कार हो, ल्यान्ड क्रुजर प्राडो । नेपाली बजारमा ल्यान्ड क्रुजर प्राडो चार भेरियन्टमा बिक्री भइरहेको छ । सबैभन्दा महङ्गो भिएक्स एटी भेरियन्टको मूल्य ३ करोड २४ लाख रुपैयाँ  र यसको लो भेरियन्ट टिएक्स एमटीको मूल्य २ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

यसमा उपलब्ध २९८२ सीसी इन्जिनले ३४ सय आरपीएममा १७०.५ पीएस पावरका साथै १६ सयदेखि २८ सय आरपीएममा ४१० एनएम टर्क उत्पादन गर्छ । जेनोन हेडल्याम्प, म्युजिक सिस्टम, एबीएस, इबीडी, प्रोजेक्टर हेडल्याम्प, हिल असिस्ट स्टार्ट कन्ट्रोल, पार्किङ सेन्सर जस्ता विशेषता यी गाडीमा रहेका छन् । 

२७९० एमएमको ह्वीलवेश र २२० एमएमको ग्राउन्ड क्लियरेन्स भएको प्राडोमास्मार्ट कि, सेन्ट्रल लकिंग, सात एसआरएस एयरब्यागको विशेषता दिइएको छ । प्रिमियम फिचर, आकर्षक स्वरुप, सुरक्षित फिचर, पावर फुल इन्जिन लगायतका कारण यसको मूल्य उच्च भएको कम्पनी बताउँछ ।


Back_to_top