काठमाडौं । अबको दुई हप्ता पछि ट्रायम्फ इन्डियाले ३५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।
भारतमा ट्रायम्फको आधिकारिक वितरक बजाज अटोले अप्रिल ६ तारिखमा ३५० सीसी इन्जिनमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने मिति तय गरेको हो ।
भारतमा अहिले बिक्रीमा रहेको स्पीड टी ४ मोडेलसँग लगभग मिल्दोजुल्दो मोटरसाइकल ३५० सीसी सेग्मेन्टमा ल्याउने लागेको हो । ३५० स्क्रायम्बलर, ३५० स्पीड लगायत ५ मोडलमा ३५० सीसी मोटरसाइकल सार्वजनिक गर्नेछ ।
भारतमा ४०० सीसी मोटरसाइकलमा लाग्ने जीएस टी र ३५० सीसीमा लाग्ने जीएसटीमा ठुलो अन्तर छ । त्यसकारण पनि कम्पनीले ३५० सीसी मोटरसाइकल ल्याउन लागेको हो । ३५० सीसी सग्मेन्टमा १८ प्रतिशत जीएसटी लाग्छ भने, ४०० सीसीमा ४० प्रतिशत जीएसटी लाग्दै आएको छ । यसरी हेर्दा ३५० सीसी मोटरसाइकलको मूल्य ४० हजार भारतीय रुपैयाँसम्मले कम हुन सक्नेछ ।
कम्पनीले ट्रायम्फ ३५० सीसी सेग्मेन्टलाई ४०० सेग्मेन्टको डिजाइनमा तयार पारेको छ भने यसको इन्जिनमा मात्र परिर्वतन हुनेछ ।
मोटरसाइकलमा इन्जिनको आधारभूत संरचना जस्ताको तस्तै राखिए पनि यसको कम्बस्चनमा परिवर्तन गरिनेछ । उदाहरणका लागि कम्प्रेसन रेसियो मिलाइनेछ र कम्बसन च्याम्बरमा सुधार गरिने छ, ताकि राम्रो प्रदर्शन मिलोस् । यसमा पिस्टनको डिजाइन भने परिवर्तन हुन सक्छ ।
ईसीयू रिम्यापिङ गरेर नयाँ फ्युल इन्जेक्सन म्याप र इग्निसन टाइमिङ समायोजन गरिनेछ । यी परिवर्तनहरूले थ्रोटल रिस्पोन्स सुधार्ने र माइलेज बढाउने अपेक्षा गरिएको छ । त्यस्तै, क्यामशाफ्ट, भल्भ टाइमिङ, एयरबक्स फ्लो, कूलेन्ट फ्लो म्यापिङ र क्लच ट्युनिङमा पनि सुधार हुनेछ।

