काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा दुईपाँग्रे सवारी साधन बजारमा चमक आएको । आर्थिक गतिविधिमा क्रमशः सुधार आउँदा मोटरसाइकल/स्कुटरको बिक्री बढेको हो ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालु आवको ८ महिना (साउन–फागुन)को तथ्यांक अनुसार दुईपाँग्रे सवारी आयात ३३.२४ प्रतिशतले बढेको हो ।
विभागका अनुसार चालु आवको ८ महिनामा १ लाख ७६ हजार ६१७ युनिट मोटरसाइकल र स्कुटर आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको तथ्यांक हो ।
चालु वर्षमा गत वर्षको सोही अवधिको तुलनामा दुईपाँग्रे सवारी आयात ४४ हजार ८१७ युनिट धेरै हो । गत वर्ष ८ महिनामा १ लाख ३४ हजार ८०० युनिट मोटरसाइकल र स्कुटर आयात भएको थियो ।
विभागका अनुसार चालु आवमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८१.१३ प्रतिशत अनएसेम्बल रहेका छन् । ८ महिनामा १ लाख ४५ हजार ७३९ युनिट अनएसेम्बल दुईपाँग्रे सवारी आयात भएको हो ।
हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकलरस्कुटर नेपालमै एसेम्बल हुन्छन् ।
८ महिनामा ३३ हजार ८७८ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्यांक छ ।
चालु आवमा आयात भएका दुईपाँग्रे सवारी मध्ये १ लाख ६५ हजार ३२६ युनिट पेट्रोल र १४ हजार २९१ युनिट विद्युतीय रहेका छन् ।
चालु आवमा कुल २२ अर्ब ६८ करोड रुपैयाँ बराबरको मोटरसाइकल र स्कुटर आयात भएको छ । जसबाट राज्यले २१ अर्ब ३४ करोड रुपैयाँ राजस्व पाएको छ ।

