काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिना (साउन-फागुन) सम्म १० हजार युनिट बढी कार आयात भएको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल १० हजार २६२१ युनिट कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय र पेट्रोल कार दुवैको संख्या हो ।
गत आवको ८ महिनाको तुलनामा चालु आवमा समग्र कार आयात ६.८१ प्रतिशत अर्थात् ६५५ युनिटले वृद्धि भएको छ । गत वर्ष फागुनसम्म कुल ९ हजार ६०७ युनिट कार आयात भएको थियो ।
चालु आवमा कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले १७ अर्ब ३९ करोड रुपैयाँ राजस्व पाएको छ ।
ईभी आयात घट्यो
चालु आवमा समग्रमा कार आयात बढ्दा विद्युतीय कार आयातमा भने ९.७४ प्रतिशत गिरावट आएको छ । गत वर्ष ८ महिनामा ७ हजार ८९ युनिट ईभी कार आयात भएकोमा चालु वर्ष ६ हजार ९८ युनिटमा सीमित भएको छ ।
चालु आवमा कुल १४ अर्ब ९६ करोडको ईभी कार भित्रिएका छन् । जसबाट सरकारले ९ अर्ब ८१ करोड रुपैयाँ राजस्व पाएको छ ।
चालु आवको बजेट अघि कर बढ्ने हल्लाले व्यवसायीले झण्डै ६ हजार ईभी आयात गरेको थिए । ती कार अझै बिक्री भइनसकेकाले आयातमा प्रभाव परेको हो ।
चालु आवमा ५० किलोवाटसम्मका २१९८ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ३६७२, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५१९ र २०१ किलोवाट माटिथका ७ युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।
पेट्रोल कार आयातमा उछाल
चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा भने उछाल आएको छ । ८ महिनाको अवधिमा ३ हजार ८६४ युनिट पेट्रोल कार आयात भएको छ ।
यो गत वर्ष सोही अवधिको तुलनामा ५३.४५ प्रतिशत धेरै हो । गत वर्ष फागुनसम्म कुल २ हजार ५१८ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो ।
पेट्रोल कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । ८ महिनामा कुल ३८६४ युनिट पेट्रोल कार आयात हुँदा १७९४ युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ ।
नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।

