काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै २१ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियार ले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार गरिएको देखिएपछि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । अख्तियारले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको यो दोस्रो पटक हो ।यसअघि गत मंसिर २१ गते २२ जना विरुद्ध मुद्दा दायर गरेका थियो ।
आयोगका अनुसार प्रतिवादीहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल, तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, तत्कालीन निर्देशक स्व।ध्रुवदास भोछिभोया रहेका छन् ।
त्यसैगरी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन अधिकृत राजाराम चौधरी, तत्कालीन उपप्रबन्धक हिमज्योती थापालाई प्रतिवादी बनाएको छ ।
त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल, तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सविन फुयाल लगायतलाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै, ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी र परामर्शदाता ईआरएमसी/ए नट/स्लेट जेभी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसँग ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग दाबी गरेको छ ।अन्य प्रतिवादीको हकमा फरक फरक बिगो माग दाबी गरेको छ।


