आफ्नो बजेट अनुसारको छनोटमा एनटर्क, यस्तो छ सबै भेरियन्टको मूल्य

काठमाडौं । नेपालमा सबैभन्दा धेरै भेरियन्टमा विक्री हुने स्कुटरको रुपमा परिचित टीभीएस एनटर्क १२५ ग्राहकले आफ्नो बजेट अनुसारको भेरियन्ट छनोट गरेर खरिद गर्न सक्ने छन् । भेरियन्टमा नेपालमा विक्री हुँदै आएको छ । एनटर्क १२५ स्कुटर सबैभन्दा धेरै ६ भेरियन्टमा विक्री हुँदै आएको छ ।

यही सेग्मेन्टमा विक्री हुने होन्डा ग्राजिया १२५ भने विभिन्न चार भेरियन्टमा उपलब्ध रहेको छ ।

टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता जगदम्वा मोटर्सले २ लाख ३२ हजार ९०० रुपैयाँदेखि ३ लाख १५ हजार ९०० रुपैयाँसम्म मूल्य तोकेर एनटर्क १२५ विक्री गर्दै आएको छ ।

कम्पनीले केही समय अघिमात्रै एनटर्क १२५को सबैभन्दा नयाँ र महंगो भेरियन्ट रेस एक्सपी नेपालमा विक्री सुरु गरेको थियो । एनटर्क एक्सपी भेरियन्टको मूल्य सबैभन्दा धेरै ३ लाख १५ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

एनटर्कको सबैभन्दा कम मूल्यको सुरुवाती भेरियन्ट एनटर्क १२५ ड्रम हो । एनटर्क १२५ ड्रम भेरियन्टको मूल्य २ लाख ३२ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, एनटर्क १२५ को डिस्क भेरियन्टको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले विक्री गर्ने मिड रेन्ज भेरियन्ट एनटर्क रेस हो । यसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी एनकर्ट १२५ सुपर स्क्वाड भेरियन्टको मूल्य २ लाख ८४ हजार ९०० रुपैयाँ र आरटीएफआई बीएस ६ भेरियन्टको मूल्य २ लाख ९५ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

एनटर्क १२५ को प्रतिस्पर्धी स्कुटर ग्राजियाको सुरुवाती मूल्य २ लाख ३७ हजार ९०० रुपैयाँ र टप भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ स्कुटर

एनटर्क १२५ प्रदुषण मापदण्ड बीएस ४ र बीएस ६ दुबै अप्सनमा उपलब्ध रहेको छ । बीएस ६ मापदण्डमा आरटी एफआई इन्जिन युक्त २ भेरियन्ट उपलब्ध छ भने बीएस ४ मा ४ भेरियन्ट ग्राहकले खरिद गर्न सक्नेछन् ।

एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।

एक्सपी भेरियन्टमा पनि १२४.८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १०.२ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । १२५ सिसि सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर भएको कम्पनीको दावी छ ।

एनटर्कमा टीभीएस स्मार्ट कनेक्टको साहायताले नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर प्रयोग गर्न सकिन्छ । यसका अलावा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०-६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । यो फिचर टप भेरियन्टमा मात्रै पाउन सकिन्छ ।


Back_to_top