काठमाडौं । सन् २०२१ देखि नै हुन्डाईले नयाँ माइक्रो एसयूभी बजारमा ल्याउने चर्चा भइरहेको थियो । सन् २०२१ को सेप्टेम्बरमा कोरियाली बजारमा क्यास्पर माइक्रो एसयूभी सार्वजनिक गरेर कम्पनीले बजारमा चलिरहेको अड्कललाई सहि सावित गरेको थियो ।
कोरियाली बजारमा आएको एक वर्ष पुरा हुँदासम्म पनि भारतीय बजारमा क्यास्पर माइक्रो एसयूभीको कुनै चर्चा भएको थिएन । तर, केही दिनअघि कोरियामा देखिएको माइक्रो एसयूभी एक वर्ष अघि बजारमा आएको क्यास्परभन्दा फरक देखिएपछि यो भारतीय उत्पादन रहेको चर्चा सुरु भएको हो ।
हुन्डाईको नयाँ माइक्रो एसयूभीको फ्रन्ट लुक्स भेन्यू सब फोर मिटरसँग मिल्दो जुल्दो देखिन्छ । पूर्णरुपमा ढाकेर राखिएको अवस्थामा देखिएको माइक्रो एसयूभीको हेडल्याम्प हुन्डाई भेन्यूको जस्तै स्क्वायर साइजमा रहेको छ । स्प्लीट हेडल्याम्प, बोनेटको माथिल्लो भागमा एच प्याट्रर्नमा दिइएको हुन्डाई शान्ता फेबाट प्रेरित एलइडी डेटाइम रनिङ लाइट यसमा देख्न सकिन्छ । यसमा दिइएको अगाडिको ढोका कोरियन क्यास्परको जस्तै छ भने पछाडिको ढोका केही लामो देखिन्छ ।
भारतीय बजारमा ३.६ मिटरको लम्बाईमा आउने माइक्रो एसयूभीमा २४५० एमएमको ह्वीलवेस यसमा रहने अनुमान गर्न सकिन्छ । जुन कोरियन बजारमा विक्री हुने क्यास्परभन्दा लामो हो ।
हुन्डाईले आफ्नो चर्चित ह्याचव्याक ग्राण्ड आई १० नियोस र अउराको प्लेटफर्ममा बनाएको यो माइक्रो एसयूभीमा १.२ लिटर कप्पा इन्जिनको प्रयोग गर्ने अनुमान गर्न सकिन्छ ।

