काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी गरेको रिपोर्ट बाहिर आएको छ । कम्पनीले अपाचे आरटीआर २०० फोर भीमा आधारित रहेर नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी गरेको हो ।
भारतीय उत्पादकले एकपछि अर्को एड्भेन्चर मोटरसाइकलमा काम गरिरहेका छन् । हिरो एक्सपल्स र होन्डा एनएक्स २०० ले बजार राम्रो प्रतिक्रिया पाएसँगै टीभीएसले एड्भेन्चर मोडल ल्याउने तयारी गरेको हो ।
अहिले पनि बीएमडब्लूको एड्भेन्चर मोटरसाइकल जी ३१० जीएस टीभीएसको प्लान्टमा नै उत्पादन हुँदै आएको छ । यस्तोमा कम्पनीले सन् २०२२ को अन्त्यसम्ममा २०० सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने कुरालाई नकार्न सकिदैन ।
विभिन्न रिपोर्टहरुले यसअघि टीभीएसले एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको उल्लेख गरेका थिए । तर, कम्पनीले यसको विषयमा कुनै प्रतिक्रिया दिएको थिएन ।

कम्पनीले ल्याउने नयाँ एड्भेन्चर मोटरसाइकलमा पछाडि लामो ट्राभल सस्पेन्सनको साथमा ड्यूल पर्पोज टायर रहने अनुमान गरिएको छ ।
अहिले अपाचे आरटीआरमा प्रयोग भएका केही फिचरलाई नयाँ मोटरसाइकलमा निरन्तरता दिइने छ । जसमा राइडिङ मोडल, कनेक्ट फिचर सहितको डिजिटल टीएफटी डिस्प्ले, व्लूटुथ कनेक्टीभीटी, स्लीपर क्लच, ड्यूल च्यानल एबीएस, एलइडी लाइट जस्ता प्रिमियम फिचर एड्भेन्चर मोडलमा उपलब्ध हुने अनुमान गरिएको छ ।


