काठमाडौं । विद्युतीय सवारी (ईभी)को बिक्रीले गति लिएको छ । अहिले बजारमा उपलब्ध दर्जन बढी मोडल इलेक्ट्रीकमा किन्न पाइन्छ । त्यसमध्ये पछिल्लो समयमा आएका दुई एसयूभी ओमोडा ई-फाइभ र दिपल एस-सेभेनले रफ्तार समातेको छ ।
उसोत स्काइवेल ईटी-फाइभको चर्चा पनि बढ्दै गएको छ । अघिल्लो साता मात्रै स्काइवेलको उत्पादन नेपाल आएको हो । मार्चबाट बिक्री सुरू भएको ओमोडा ई-फाइभ र मार्चको अन्तिम दिन बिक्री सुरू भएको दिपल एस-७ ले गाडी किन्न चाहनेलाई आकर्षित गरिरहेको छ ।
विगतमा विद्युतीय गाडी ल्याएर बिक्री गर्नेहरूले बजार निर्माण गर्न लामो समय लागेको थियो । अब उपभोक्ता नै ईभी खोजेर आउन थालेको कारण नयाँ आउने ब्राण्डले सहजै ग्राहक पाउन थालेका हुन् । र, त्यसमा पनि ओमोडा र दिपलले जुन रफ्तार पाएका छन्, त्यो निकै लोभलाग्दो देखिन्छ ।
पछिल्ला दिनमा आएका यी दुई एसयूभीले आफ्नो डिजाइन, पर्फमेन्स, मूल्य र फिचरको कारण उपभोक्ताको मन जित्न सफल हुँदै गएका हुन् । यी दुई मोडल सिधाभन्दा एक अर्काका प्रतिस्पर्धी होइनन् । मूल्यका हिसाबले १० लाख रुपैयाँ फरक रहेका यी एसयूभी मध्ये तपाईंको रोजाइमा कुन पर्छ ?

मूल्य
ओमोडा ई-फाइभको बिक्री सुरू हुँदा ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो । कम्पनीले इन्टोडक्टरी मूल्य भनेकोमा अहिले बढाएर ६१ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ ।
दिपल एस-७ को इन्टोडक्टरी प्राइस ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैले यी दुई मोडलको मूल्यमा १० लाख रुपैयाँ फरक पाउन सकिन्छ ।

बडी डिजाइन
दिपल एस-सेभेन एक प्रिमियम क्रसओभर मोडल हो । निकै आक्रमक फ्रन्ट डिजाइनमा उपलब्ध एस-सेभेन इन्टेरियर फिचरको कारण पनि चर्चामा छ । यसमा दिइएको फ्रेमलेस डिजाइनदेखि चालकलाई वेलकम गर्नेसम्मका फिचर अहिले उपभोक्ता माझ चर्चामा छ ।
ओमोडा ई-फाइभ एक कुप्पे डिजाइन क्रसओभर एसयूभी हो । मस्कुलर फ्रन्ट र स्पोर्टी रियर डिजाइनको कारण ओमोडा ई-फाइभ चर्चामा छ । यसको डिजाइनसँग इन्टेरियर निकै आकर्षक र ह्याण्डल गर्न सहज छ ।
ब्याट्री र रेन्ज
साइजमा निकै ठूलो दिपल एस-सेभेनको रेन्ज पनि उत्कृष्ट भएको कारण उपभोक्ताले मन पराएका हुन् । ओमोडा ई-फाइभमा ब्लेड ब्याट्री भएको कारण धेरैले चासोका साथ यसलाई हेरेका हुन् ।
दिपल एस-सेभेनमा ६६.८ किलोवाट आवरको ब्याट्री छ । यसको डब्ल्यूएलटीपी रेन्ज ४३० किलोमिटर प्रमाणित भएको छ ।
ओमोडा ई-फाइभमा ६१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसको रेन्ज पनि ४३० किलोमिटर नै प्रमाणित भएको छ ।
आकर्षण बढ्नुका कारण
दिपल एस-सेभेन ठूलो साइजको गाडी खोज्नेको लागि उपयुक्त भएकै कारण ७० लाख रुपैयाँ आसपास मूल्य खर्च गर्नेहरूले किनिरहेका छन् । यसमा प्रयोग भएको फिचरहरू निकै आधुनिक भएको कारण कार प्रेमीहरूको लागि केही नयाँ पनि लाग्छ । साथै, रेन्ज पनि राम्रो भएको कारण मानिसको रोजाइमा परेको छ ।
ओमोडा ई-फाइभ ५० देखि ६५ लाख भित्र मूल्यका कम्प्याक्ट एसयूभी किन्ने ग्राहकले हेर्ने मोडल हो । यसले आफ्नो पर्फमेन्सको कारण पनि ग्राहक तान्न सक्छ । अझ कुप्पे डिजाइन खोज्नेको पहिलो रोजाइ नै अमोडा ई-फाइभ पर्न सक्छ ।


