काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (साउन-चैत)मा झन्डै १ लाख युनिट दुईपाँग्रे सवारीसाधन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतसम्म ९८ हजार ७७० युनिट दुईपाँग्रे सवारी आयात भएका हुन् ।
गत वर्षको तुलनामा यो वर्ष दुईपाँग्रे सवारी आयात १३ प्रतिशत हाराहारीले वृद्धि भएको हो । गत वर्ष चैतसम्म कुल ८५ हजार ७९१ युनिट दुईपाँग्रे सवारी आयात भएको थियो ।
पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको छ । जसकारण बजारमा दुईपाँग्रे सवारीको माग बढेसँगै बिक्रेताहरूले आयात बढाएका हुन् ।
चैत महिनामा औसतभन्दा २ हजार बढी युनिट दुईपाँग्रे आयात भएको छ । चालु आवमा मासिक औसतमा १० हजार हराहारीमा युनिट आयात हुँदै आएकोमा चैतमा १२ हजार १०८ युनिट दुईपाँग्रे भित्रिएका छन् ।
अघिल्लो आवको तुलनामा यो वर्ष आइसीई इन्जिनयुक्त दुईपाँग्रेको आयातमा केही बढोत्तरी भएको देखिन्छ भने इलेक्ट्रीक दुईपाँग्रेको आयात भने अझै घट्दो देखिन्छ ।
चैतसम्म पेट्रोलबाट चल्ने दुईपाँग्रे ९३ हजार ८१८ युनिट आयात भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा ७९ हजार ५२८ युनिट दुईपाँग्रे आयात भएको थियो ।
चालु वर्षमा चारपाँग्रे ईभी आयत बढे पनि दुईपाँग्रे ईभी आयात भने २२ प्रतिशतले घटेको छ । यस वर्ष चैतसम्ममा ४ हजार ९५२ युनिट दुई पाँग्रे ईभी आयात भएको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा ६ हजार २६३ युनिट दुईपाँग्रे ईभी आयात भएको थियो ।
सुधार हुँदै दुईपाँग्रे बजार
विगत दुई वर्षदेखि ओरालो लागेको दुईपाँग्रे बजार पछिल्ला महिनाहरूमा क्रमशः सुधारोन्मुख देखिन थालेको छ । आर्थिक मन्दीका कारण आयात रोकिनु, कोभिडको समयमा दुईपाँग्रेको बिक्री अस्भाविक बढ्नु, हिरो मोटरसाइकलको आयात बन्द हुनुजस्ता कारणले समेत मोटरसाइकल आयात घट्दो क्रममा देखिएको थियो ।
हिरोले नेपालमा नै एसेम्बल प्लान्ट लगाएर मोटरसाइकल बिक्री घोषणा गरिसकेको छ । अघिल्लो आवको तीन महिना होन्डा मोटरसाइकलको आयात शून्य हुनु जस्ता कारणले मोटरसाइकलको आयात घटेको देखिन्छ ।
अहिले अर्थतन्त्रमा क्रमिक सुधारका संकेत देखिन थालेसँगै सवारी साधनको माग पनि बढ्दै गएको छ । अब दुईपाँग्रे सवारीको बिक्री क्रमशः कोभिडको अघिकै अवस्थामा फर्किने बिक्रेताहरूको अपेक्षा छ ।


