काठमाडौं । हिरो मोटोकर्पका उत्पादन सिजी मोटर्सले हिजो आइतबारबाट बिक्री सुरु गरेको छ । तर, कम्पनीले हिजो सार्वजनिक गरेको मूल्य र आज कायम भएको मूल्यमा फरक देखिएको हो ।
कम्पनी आगामी बुधबारदेखि मोटरसाइकल तथा स्कुटर डेलिभरी सुरु गर्ने घोषणा गरेको छ । यसअघि विक्री हुँदै आएको बीएस ४ मोडलका स्प्लेन्डर प्लस र सुपर स्प्लेन्डर नेपाल आएको छ । साथै, थोरै परिमार्जन गरेर एक्सपल्स २०० फोर भी र अल न्यू जुम ११० स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले हिजो घोषणा गरेको मूल्य र आज डिलरहरुले बिक्रीको लागि राखेको मूल्यमा अन्तर देखिएको छ । यसअघि कम्पनीले डिलर नेटवर्कमा पठाएको मूल्य स्प्लेन्डर प्लसको २ लाख ६ हजार ९०० रुपैयाँ, सुपर स्प्लेन्डरको २ लाख ४३ हजार ९०० रुपैयाँ र एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको थियो ।
सबैजसो डिलरले यही मूल्यलाई आधार मानेर मोटरसाइकल बुकिङ लिएका थिए । तर, कम्पनीले पुनः नयाँ मूल्यसूची जारी गरेको छ । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलमो मूल्य १ हजारदेखि ४ हजार ९०० रुपैयाँसम्म फरक परेको हो ।
आजबाट स्प्लेन्डर प्लसको नयाँ मूल्य २ लाख ७ हजार ९०० रुपैयाँ, सुपर स्प्लेन्डरको मूल्य २ लाख ४३ हजार ९०० रुपैयाँ र एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५४ हजार ९०० रुपैयाँ बनाइएको छ ।
यस विषयमा कम्पनीमा बुझ्दा प्राविधिक गडवढीका कारण मूल्यमा अन्तर देखिएको बतायो । यसअघि बुकिङ गरिसकेका ग्राहकहरुको लागि पुरानै मूल्यमा दिने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दियो ।
पार्टस् यसै साताबाट
हिरो मोटरसाइकलको पार्टस अघिल्लो शुक्रबारदेखि नै उपलब्ध गराउने बताएको कम्पनीले अझै पार्टस् उपलब्ध गराउन सकेको छैन । यसले ग्राहकहरू अझै अन्योलता देखिन्छन् । कम्पनीले एक/दुई दिन भित्रमा नै पार्टस् उपलब्ध गराउने अन्तिम तयारी भएकाे जानकारी दियाे ।
‘हामीले अघिल्लो साता नै दिने भनिएको पार्टस् विभिन्न कारण दिन सकेका छैनौ । हाम्रो पार्टस चोभार सुख्खा बन्दरगाहामा आएको एकहप्ता भइसकेको छ । सरकारी काम अन्तिम चरणमा पुगेको छ । अब चाँडै बजारमा पार्टस् पठाउँछौ’, कम्पनीका महाप्रबन्धक प्रकाश देबकोटाले मेरोअटोसँग भने ।
उनका अनुसार शुक्रबारदेखि सबै सर्भिस सेन्टरमा पार्टस् पुग्नेछ ।