टोयोटा विमन्स मोटर र्‍याली २०२४ को बिजेता बनिन् शाक्य

काठमाडौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख ८ गते मोटर र्‍याली सम्पन्न गरेको छ । उक्त र्यालीको विजेता राज्यलक्ष्मी शाक्य बनिन् ।

सडकमा सुरक्षित यात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजित टोयोटा विमन्स र्‍यालीको बिजेता शाक्यले ५० हजार रुपैयाँ बराबरको चेक र ट्रफी प्राप्त गरिन् । यस्तै, दोस्रो हुन सफल रिन्छेन लामाले ३० हजार र ट्रफी जितिन् । तेस्रो भएकी स्वस्तिका महर्जनले २० हजार र ट्रफी पाइन् ।

धुम्बाराहीबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको र्‍याली आयोजना गरिएको थियो । यसको रुट क्रमशः कार्यालयबाट नारायण गोपाल चोक, भाटभटेनी मन्दिर, जमल, न्युरोड, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशला, चाबहिल चोक, जोरपाटी हुँदै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर टुंगिएको हो ।

आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य यो विमन्स र्‍यालीले समय, गती र सुरक्षाको पाटोमा उपलब्धी हासिल गरेको बताइन् ।

‘आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस्’ भन्ने सांकेतिक सन्देशसहित सुरु गरेको यो र्‍याली फलदायी भएको सबैले बताए ।

‘हामीले ५० जनालाई मात्रै सहभागी गर्ने भनेकोमा धेरै उत्सुकता भएर सहभागीता जनाउन खोजेकाले ५५ जना पुगे । यो प्रतिस्पर्धा छिटो कुदाउने भन्ने होइन । कसले नियम पालना गर्छ ? कसले समय र गति अनि सुरक्षालाई ध्यान दिन्छ ? यसलाई मूल्यांकन गरिएको हो’, प्रबन्ध निर्देशक वैद्यले भनिन् ।

उक्त कार्यक्रम आयोजित स्थलमा विभिन्न खालका करिब २० स्टलहरूमार्फत उत्पादन प्रदर्शन गरियो । २० वर्षअघि नेपालमा टोयोटाले बुमन्स र्‍याली सुरु गरेको थियो । सन् २००४ बाट र्‍याली सुरु गरेको टोयोटाको विमन्स र्‍यालीमा त्यतिबेला महिला चालकहरू कम थिए । अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ ।


Back_to_top