काठमाडौं । सरकारी राजस्वको कारण नेपालमा सवारीसाधनको मूल्य निकै महंगो छ । सरकारले लगाउने करिब २४९ प्रतिशत राजश्व लागेसँगै सामान्य कारको मूल्य पनि २० लाखभन्दा माथि पुगेको हो ।
मासिक ६० हजार हाराहारी कमाउने मानिसले नेपालमा गाडी चढ्न सक्ने अवस्था छैन । यस्तोमा लगातार बढ्दै गएको पेट्रोलको मूल्यले धेरै मानिसलाई हच्काएको छ । यद्यपी नेपाल साना गाडीको विक्रीमा उच्च गिरावट आएको छ ।
अहिले साना ह्याचव्याक कार खोज्ने मानिसको संख्या अत्यन्त कम छन् । विशेषगरी भर्खर गाडी चलाउन सिकेका, पार्किङ गर्ने ठाँउ कम भएका र आफ्नो आम्दानीले ठूलो गाडी मेन्टेन गर्न सहर्न अफ्ठ्यारो पर्ने मानिसले मात्रै साना ह्याचव्याक खरिद गर्ने गरेको पाइन्छ ।
तर, नेपालको बाटो र सानो परिवार भएका मानिसको लागि उत्कृष्ट मानिने साना ह्याचव्याक कारको विक्री लगतार घट्दै गएको छ । कम संचालन खर्च, उच्च माइलेज, सानो इन्जिन, कम्प्याक्ट साइज र कम मर्मत शुल्कका बाबजुद साना गाडीको विक्रीमा गिरावट आउनु आश्चर्यजनक रहेको धेरैको बुझाई छ ।
पारिवारीक कारको व्याख्यासहित विक्री भइरहेका ३० लाखभन्दा कम मूल्यमा उत्कृष्ट कारहरु पाउन सकिन्छ ।
हुन्डाई सेन्ट्रोः कुनै समय साना गाडी खोज्ने धेरै ग्राहकको पहिलो रोजाई बन्ने सेन्ट्रो अहिले ठिकठाक विक्री हुने मोडलमा पर्छ । कुनै समय वार्षिक एक हजार यूनिटभन्दा धेरै विक्री हुने सेन्ट्रो अहिले ५ सय यूनिट हाराहारी मात्रै विक्री हुने गरेको देखिन्छ ।
हुन्डाईले सन् २०१८ मा नयाँ जेनेरेशन सेन्ट्रो ल्याएसँगै यसको विक्रीमा गिरावट आएको छ । तर, सेन्ट्रो इन्ट्री लेभल ह्याव्याकमा उत्कृष्ट कार हो । यसमा दिइएको १.१ लिटर फोर सिलिण्डर इन्जिन निकै उत्कृष्ट रहेको छ । सानो कारमा फोर सिलिण्डर इन्जिन भएकै कारण सेग्मेन्टमै स्मुथ कारको रुपमा यसलाई लिइन्छ ।

बजारमा सेन्ट्रोको रिसेल भ्यालु एकदमै राम्रो हुनु र चलाउन एकदमै स्मुथ भएकाले यसको विक्री अहिले पनि राम्रो मानिन्छ
हुन्डाई मोटर्सको नेपालका लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सेन्ट्रोको ५ भेरियन्ट विक्री गर्दै आएको छ । सेन्ट्रो इराको २५ लाख ५६ हजार, म्याग्नाको २७ लाख ५६ हजार र स्पोट्जको मूल्य २९ लाख ९६ हजार रहेको छ । अटोमेटीकको मूल्य भने ३० लाखभन्दा माथि छ ।
रेनो क्वीडः विगत धेरै वर्षदेखि स्टाइलिस ह्याचव्यका कार खोज्नेहरुको पहिलो रोजाईमा पर्दै आएको फ्रेन्च कम्पनी रेनोको क्वीड निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ ।
झट्ट हेर्दा एसयूभी जस्तो देखिने स्पेशियस क्वीडको ३ वटा भेरियन्ट नेपालमा विक्री भइरहेको छ । कम्पनीले यसमा १.० लिटर, थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । हजार सीसी क्षमातको इन्जिन भएकोले यसले निकै राम्रो माइलेज दिन्छ ।

एड्भान्स अटोमोवाइलले क्वीडको आरएक्सटी (ओ) म्यानुयलको मूल्य २५ लाख ४९ हजार, क्लाइम्बरको २६ लाख ४९ हजार र अटोमेटिक ट्रास्मीसन सहितको आरएक्सटि ओको मूल्य २६ लाख ९९ हजार रहेको छ । साथै, रेनोले विक्री गर्ने क्रसओभर काइगरको इन्ट्री भेरियन्ट आरएक्सएल पनि २९ लाख ९९ हजारमा विक्री भइरहेको छ ।
टाटा टियागोः ग्लोबल एनक्याप क्र्यास टेष्टमा ४ स्टार रेटिङ पाउन सफल टाटा टियागो नेपालमा राम्रै संख्यामा विक्री भइरहेको छ । टाटा टियागोमा निकै पावरफुल इन्जिन दिइएको छ ।
टियागोमा टाटाले १.२ लिटर, थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । यो कार विशषत ग्राण्ड आई १० नियोस र स्वीफ्टसँग प्रतिस्पर्धा गर्न टाटाले तयार गरेको भएपनि यसको वेस भेरियन्टको मूल्य इन्ट्री लेभल ह्याचव्याकसँग हुन्छ ।

टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले विक्री गदै आएको टियागोको एक्सइको मूल्य २४ लाख ९९ हजार छ । जुन बीएस फोर इन्जिनमा उपलब्ध छ ।
साथै, कम्पनीले बीएस सिक्स इन्जिन भएको एक्सईको मूल्य २८ लाख ३५ हजार कायम गरेर विक्री गर्दै आएको छ । टाटा मोटर्सकै कम्प्याक्ट सेडान टिगोरको बिएस ४ इन्जिनयुक्त एक्सइको मूल्य पनि २८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
डाट्सन रेडी-गोः नेपाली बजारमा पाइने साना ह्याचव्याक कार मध्ये सबैभन्दा कम मूल्य विक्री भइरहेको कार रेडी–गो हो । ड्याट्सन रेडी–गो अटोमेटीक पनि अन्यको दाँजोमा सस्तो छ । निसानको सहायक कम्पनी डाट्सनले भारतमा बनाउको यो ह्याचव्याक एक छरितो कार हो ।
कम्पनीले यसमा क्वीडको जस्तै समान १.० लिटर, थ्रि सिलिण्डर युक्त पेट्रोल इन्जिन दिएको छ ।

नेपालका लागि डाट्सन मोटर्सको आधिकारीक वितरक पायोनियर मोटोकर्पले २ भेरियन्टमा उपलब्ध गराएको रेडी–गो म्यानुयलको मूल्य २४ लाख ४९ हजार र अटोमेटीकको मूल्य २५ लाख ९९ हजार रहेको छ । यो सेग्मेन्टमै सबैभन्दा धेरै १८७ एमएम उच्च ग्राउण्ड क्लियरेन्स भएको कार हो ।
मारुती सुजुकी सेलेरियोः सीजी मोटोकर्पले बुकिङ लिइरहेको नयाँ जेनेरेशन सेलेरियो केही दिन भित्रै विक्री सुरु हुँदैछ । मारुती सुजुकीको सानो ह्याचव्याक कार किन्न चाहने ग्राहकको लागि एउटा राम्रो छनोट सेलेरियो हो ।

भारतमा निर्मित कारहरु मध्ये सबैभन्दा बढि माइलेज दिने भएकाले पनि यो कार अहिले निकै चर्चामा छ । बढ्दो पेट्रोलको मूल्यमा पनि कम खर्चमै धेरै किलोमिटर यात्रा गर्न सकिने कारले प्रतिलिटर २६ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
मारुती सुजुकीको १.० लिटर, थ्रि सिलिण्डर ड्यूलजेट इन्जिनमा यसमा रहेको छ । यसको सुरुवाती भेरियन्टको मूल्य २७ लाख ९९ हजार कायम गरेर कम्पनीले बुकिङ लिइरहेको छ ।


