नेपालमा पाइन्छ ३८ देखि ८२ लाख रुपैयाँसम्मका इलेक्ट्रीक एसयूभी

काठमाडौं । विद्युतीय गाडीको बजार बढ्दै जाँदा इलेक्ट्रीक एसयूभीको माग निकै बढेको छ । बजारमा अधिकांश कम्पनीले ल्याएका एसयूभीमा ग्राहकको चासो रहेको पाइन्छ ।

अहिले बजारमा टाटा, एमजी, बीवाइडी, हुन्डाई र कियाले इलेक्ट्रीक एसयूभी विक्री वितरण गर्दै आएका छन् । बजारमा उपलब्ध इलेक्ट्रीक एसयूभीमा सबैभन्दा कम मूल्यको गाडी नेक्सन इभी हो । टाटाले नेक्सन इभी अहिले विभिन्न तीन भेरियन्टमा नेपाली बजारमा उपलब्ध गराएको छ ।

नेक्सनको लङ रेन्ज मोडल नेक्सन म्याक्स पनि भारतमा सार्वजनिक भइसकेको छ । भारतमा विक्री सुरु भएसँगै चाँडै म्याक्स मोडल पनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।

टाटा नेक्सनलाई सिप्रदी ट्रेडिङले आधिकारीक रुपमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले एक्सएम भेरियन्टको मूल्य ३७ लाख ९९ हजार, एक्सजेड प्लस भेरियन्टको ३९ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको ४१ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

एमजी जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको इलेक्ट्रीक एसयूभी हो । अग्लो बडी डिजाइन, उत्कृष्ट फिनिसिङ, ठिक्कको रेन्ज र आकर्षक मूल्यको कारण एमजी जेडएस इभी नेपालमा निकै सफल भएको हो । करिब ४ महिनादेखि जेडएसको आयात रोकिएको अवस्था छ । पारामाउन्ट मोटर्सले यसको फेसलिफ्ट मोडल समेत सार्वजनिक गरिसकेको छ । कम्पनीले यसको स्टायडर्ड भेरियन्टको मूल्य ५१ लाख ९९ हजार र लङ रेन्ज मोडलको ५९ लाख ९९ हजार मूल्य तोकेर विक्री गर्दै आएको छ ।

त्यसैगरी, हुन्डाईले कोना इभी र आयोनीक ५ एसयूभी विक्री गर्दै आएको छ । कोना नेपाली बजारमा आएको पहिलो चल्तीको इलेक्ट्रीक एसयूभी हो । फरक डिजाइन र प्रिमियम फिचरको कारण कोना धेरै ग्राहकले मनपराएको मोडल हो । कोना जीएल र जीएलएस मोडल अहिले विक्री हुँदै आएको छ । कोना जीएलको मूल्य ५७ लाख ९६ हजार र जीएलएसको मूल्य ६० लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईले तीन महिना अघि नेपाल ल्याएको आयोनीक ५ फ्यूचरिस्टीक डिजाइनको कारण सर्वाधिक चर्चा कमाउन सफल मोडल हो । हुन्डाईको डेडिकेटेड इभी प्लेटफर्म र ८०० भोल्ट आर्किटेक्चरमा तयार भएको कारण यसलाई टेक्नोलोजीमा पनि भविष्य उन्मुख डिजाइन मान्न सकिन्छ । आयोनीक पनि दुई भेरियन्टमा उपलब्ध रहेको छ । भिजन रुफ भएको जीएलएस भेरियन्टको मूल्य ८० लाख ९६ हजार र सोलार रुफ भएको जीएलएसको ८१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, पूर्णरुपमा एमपीभी डिजाइनमा तयार भएको तर, ५ सिट क्षमताको बीवाइडीको नयाँ जेनेरेशन इ सिक्स ब्लेड ब्याट्रीको कारण चर्चा बटुल्न सफल मोडल हो । पछिल्ला दिनमा यसको विक्री निकै राम्रो संख्यामा भइरहेको छ । ५०० किलोमिटर रेन्ज र सर्वाधिक चार्जिङ साइकल भएको कारण बीवाइडी रोज्ने र खोज्ने ग्राहक बढेको बुझ्न सकिन्छ । कम्पनीले यसको मूल्य ५७ लाख ५० हजार निर्धारण गरेको छ । बीवाइडीले ५० लाख रुपैयाँ मूल्य तोकेर इ सिक्स मोडल पनि विक्री गर्दै आएको छ ।

किया निरो पनि नेपालमा राम्रै संख्यामा उपलब्ध रहेको इलेक्ट्रीक एसयूभी हो । कम्पनीले ६९ लाख ९० हजार मूल्य निर्धारण गरेको निरो पछिल्लो दिनमा उपलब्ध छैन । कियाले नयाँ एसयूभी इभी ६ पनि नेपाल ल्याउने तयारी गरिरहेको छ । यी बाहेक टेस्लाले पनि फाट्टफुट्ट गाडी लाएर विक्री गर्दै आएको छ ।


Back_to_top