काठमाडाैं । सन् २०२० सुरु भइसकेको छ । यस्तोमा नेपाली बजारमा गाडी बिक्री गर्दै आएका विभिन्न कम्पनीले नयाँ मोडलका कार तथा एसयूभी ल्याउने तयारीलाई तिब्रता दिइसकेका छन् ।
जनवरी महिनामा रेनोले आफ्नो चर्चित मोडल ट्राइबर सार्वजनिक गर्नेछ भने फेब्रुअरीमा टाटा मोटर्सको पछिल्लो उत्पादन अल्ट्रोज सार्वजनिक गर्ने जनाएको छ । साथै, फेब्रुअरीमा रेनोले अन्य दुई मोडल क्वीड र डस्टरको फेसलिफ्ट मोडलपनि सार्वजनिक गर्ने छ ।
त्यस्तै मार्चमा महिन्द्राले केयूभी १०० इलेक्ट्रीक र निसानले आफ्नो इलेक्ट्रीक सेडान कार लिफ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । संभवत मार्चमा नै मारुती सुजुकीले चर्चित कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा पेट्राेल इन्जिनमा सार्वजनिक गर्नेछ ।
अप्रिलमा नेपाली बजारमा हुन्डाईले तीन नयाँ मोडल ल्याउने तयारी गर्ने जनाएको छ । संभवत कम्पनीले अप्रिलमा ग्रान्ड आई १० नियोस नेपाली बजारमा सार्वजनिक हुनेछ । यसका अलावा मार्चमा जीपले नयाँ इन्जिनमा आउने फेसलिफ्ट कम्पास नेपाली बजारमा ल्याउने छ ।
त्यसैगरी सन् २०२० मा फोर्डले फेसलिफ्ट इकोस्पोर्ट, महिन्द्राले नयाँ जेनेरेशन स्कर्पियो र थार, होन्डाले अल न्यू सिटीजस्ता गाडी नेपाली बजारमा ल्याउने छन् ।
यी हुन् २०२० मा आउने चर्चित ३ मोडल
माथी उल्लेखित मोडलका अलावा नेपाली बजारमा आउने अन्य चर्चित ३ नयाँ मोडलमा सुजुकी जिम्नी, अल न्यू हुन्डाई क्रेटा र टाटा नेक्सन इभी हुन् ।
सुजुकीले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको जिम्नी २०२० मा नेपाल प्रबेश गर्ने सबैभन्दा चर्चित मोडल हो । यसलाई सिजी मोटो कर्पले २०२० को मध्येसम्ममा नेपाली बजारमा ल्याउने छ ।
त्यस्तै हुन्डाई मोटरको चर्चित एसयूभी क्रेटाको अल न्यू मोडल अहिलेदेखि नै निकै चर्चामा रहेको छ । किया सेल्टोसको इन्जिनमा आउने नयाँ क्रेटा निकै प्रतिक्षित मोडलको रुपमा रहेको छ । यसलाई हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इनटरकन्टिनेन्टल्स प्रालिले सन् २०२० मा नै नेपाली बजारमा उतार्ने छ ।
टाटा मोर्टसको उत्पादन नेक्सन इभी सर्वाधिक चर्चामा रहेको मोडल हो । इलेक्ट्रीक एसयूभीमा रहेको उच्च ग्राउन्ड क्लियरेन्स र संभावित मूल्यका कारण यो एसयूभी निकै चर्चामा रहेको छ । सिप्रदी ट्रेडिङले यसलाई मार्चको अन्तिमसम्ममा नेपाली बजारमा उतार्ने तयारी गरिरहेको छ ।

