टीभीएसको इलेक्ट्रीक स्कुटर परिक्षण सुरु

टीभीएस मोटर्स कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटरको परिक्षणलाई तिब्र बनाएको तस्विरहरु बाहिर आएका छन् । कम्पनीले चेन्नाइमा आफ्नो उत्पादनको प्रोटोटाइपको परिक्षण गरिरहेको देखिएको हो ।

कम्पनीले अटो एक्स्पो २०१८ मा देखाएको ‘क्रियोन’ कन्सेप्टमा आधारित रहेर तयार गरेको उक्त इलेक्ट्रीक स्कुटरको उत्पादन अप्रिल २०२० पछि सुरु गर्ने अनुमान गरिएको छ ।

टीभीएसले यसलाई क्रियोन कन्सेप्टको रुपमा देखाएको भएपनि यस मोडलको नाम भने फरक हुन सक्ने जनाइएको छ । २०१८ मा देखाएको कन्सेप्टको तुलनामा यसको प्रडक्सन मोडल निकै एडभान्स हुने अनुमान गरिएको छ । कम्पनीले यसमा सबै किसिमका लाइटहरु एलइडी प्रयोग गर्नेछ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्स रहने यस स्कुटरमा ठूलो स्टोरेज क्षमता, यूएसबी चार्जर, डायमनकट एलोय ह्वील जस्ता फिचर समावेस हुने छन् ।

कम्पनीले इन्टेलसँग मिलेर तयार गरेको स्मार्ट कनेक्टेड टेक्नोलोजी यसमा उपलब्ध हुनेछ । जसमा क्लाउड कनेक्टीभिटी, एन्टी थेप्ट, जिपिएस, नेभिगेशन जस्ता फिचर समावेस हुने छन् ।

कम्पनीले यसमा विभिन्न तीन राइडिङ मोड अफर गर्ने छ । साथमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसमेत दिइने अनुमान गरिएको छ । क्रियोन कन्सेप्टमा १२ किलोवाटको लिथियम आयोन व्याट्री दिएको थियो तर, प्रडक्सन मोडलमा कुन व्याट्री उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


Back_to_top