भारतमा रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० बीएस ४ को बिक्री बन्द, नेपालमा कुन आउला ?

काठमाडौं । नेपाली बजारमा दुई महिना अगाडि ल्याएर शोरुममा राखिएको ‘रोयल इन्फिल्ड इन्टरसेप्टर ६५०’ बीएस फोरको भारतमा उत्पादन बन्द भएको छ । कम्पनीले प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा मात्रै यो मोडलको उत्पादन गर्ने जनाएको छ ।

नयाँ इन्जिनमा उत्पादन सुरु गरेसँगै कम्पनीले भारतभर बुकिङ खुल्ला गरेको छ । भारत सरकारले नयाँ प्रदुषण मापदण्डलाई आगामी अप्रिल १ तारिखबाट अनिवार्य गरेको हो ।

रोयल इन्फिल्डले भारतीय बजारमा ३५० सीसी सेग्मेन्टलाई बीएस ६ मा उतारी सकेको छ भने, ५०० सीसी सेग्मेन्टका धेरै मोडल बन्द गरेको छ ।

कम्पनीले हाल रोयल इन्फिल्डको शोरुममा १० हजार भारतीय रुपैयाँ टोकन रकम लिएर प्रि–बुकिङ लिन सुरु गरेको अटो कार इन्डियाले उल्लेख गरेको छ । कम्पनीले नयाँ मूल्य भने खुलाएको छैन । यद्यपी बीएस ४ भन्दा बीएस ६ को मूल्य बढेर आउने अनुमान गरिएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक एमभी दुगर्डले इन्टरसेप्टरको आधिकारीक बिक्री सुरु गरेको घोषणा नगरिकन भएको परिमार्जनले इन्टरसेप्टर ६५० कुन मापदण्डको इन्जिनमा आउने छ भन्ने चर्चा चुलिएको छ ।

नेपाली बजारमा यो मोटरसाइकल सार्वजनिक हुँदा बीएस ४ भर्सनको मूल्य १२ लाख ५० हजार हुने अनुमान गरिएको थियो । यदि कम्पनीले नयाँ इन्जिनमा ल्याएको खण्डमा यसको मूल्य अझ बढ्न सक्नेछ ।


Back_to_top