आउने क्रममा रहेका रोचक ६ ईभी मोडल, तपाईंंको छनोटमा कुन ?

काठमाडौं । गाडी किन्दा सबैभन्दा बढी निर्णायक भूमिका मूल्यको हुन्छ । जो कोहीले गाडी किन्नुअघि आफ्नो वित्तीय व्यवस्थापन गर्नुपर्छ । त्यसैले कुन डिजाइन र ब्राण्डको कार किन्ने भन्ने कुरामा मूल्य महत्वपूर्ण कारक बन्छ ।

मसँग २५ लाख रुपैयाँ गाडी किन्नको लागि बजेट व्यवस्थापन हुन्छ भने म एसयूभी किन्न सक्दिन । मेरो बजेटको लागि सामान्य ह्याचब्याक कार ठिक हुन्छ । त्यस्तै मेरो बजेट ४० लाख आसपास हो भने साना एसयूभी किन्न सकिन्छ । होइन तपाईं ह्याचब्याक कार मनपराउने हुनुहुन्छ भने उत्कृष्ट छनोट पाउन सक्नुहुन्छ ।

महँगा ईभी पनि बजारमा विकल्पका रूपमा आएका छन् । अहिले बजारमा सामान्य २० लाखदेखि २ करोड रुपैयाँ माथिका ईभी पनि किन्न पाइन्छ । तर, ईभी मोडलको लामो आयु भने कायम हुन सकेको छैन । विस्तारै बीवाइडी, एमजी, हुन्डाई जस्ता ब्राण्ड ईभीमा लामो जीवन खोज्दै छन् ।

नयाँ वर्ष २०२६ मा धेरै नयाँ मोडलका ईभीहरू बजारमा आउँदै छन् । विशेषगरी, चिनियाँ उत्पादकहरूका नयाँ मोडलहरू नेपाल आउने छन् । त्यसमा एमजी, ओमोडा÷जेको, लीपमोटर, दीपल, बीवाइडी, जिली, प्रोटोन लगायतका चिनियाँ ब्राण्डहरू नयाँ गाडी बजारमा ल्याउने योजनामा छन् ।

सन् २०२६ मा भारतमा उत्पादन हुने टाटा, सुजुकी, टोयोटा र महिन्द्राले पनि नयाँ ईभी नेपाल ल्याउने छन् । यसका अलावा कोरियन ब्राण्ड किया र हुन्डाईले पनि २०२६ मा ईभी मोडल ल्याउने सम्भावना रहेको छ ।

माथि, उल्लेख गरेका बाहेक पनि धेरै ब्राण्डले नयाँ विद्युतीय कार मोडल बजारमा ल्याउने छन् । त्यस मध्ये केही रोचक मोडलका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

१. टोयोटा हाइलक्स ईभी

नेपाली बजारको लागि टोयोटा हाइलक्स पहिलो इलेक्ट्रीक मोडल हुने पक्का जस्तै छ । पीकअप सेग्मेन्टमा निकै राम्रो छाप छाडेको हाइलक्स आगामी अप्रिलसम्ममा नेपाल आउने अनुमान गरिएको छ ।


टोयोटाले जापान, अष्ट्रेलिया, बेलायत, थाइल्याण्ड, भारत जस्ता देशलाई ध्यानमा राखेर हाइलक्स ईभीको राइट ह्याण्ड ड्राइभ मोडल विकास गरेको छ । टोयोटा हाइलक्समा ५९.२ किलोवाट आवरको एलएफपी ब्याट्री रहने छ । गाडीको क्षमता अनुसारको पूरै लोड बोकेर चलाउँदा यसले २४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ ।

अल ह्वील ड्राइभ सिस्टममा आउने पीकअपमा २०० किलोवाटको मोटर रहेको छ । हाइलक्स ईभीको पेलोड क्षमता ७१५ किलोग्राम र तान्न सक्ने क्षमता १६०० केजी हुनेछ ।

२. लीपमोटर ए-१०

लीपमोटरको नयाँ एसयूभी ए-१० अर्को खुबै चर्चा सुरू भएको मोडल हो । यसमा उपलब्ध ब्याट्रीको विषयमा कम्पनीले आधिकारिक जानकारी बाहिर नल्याएपनि रेन्ज भने ५०० किलोमिटर हुने रिपोर्ट बाहिर आएको छ ।

आगामी सेप्टेम्बरसम्ममा नेपाल आउने लीपमोटर ए-१० एसयूभी ‘स्माइलिङ फेस’ एस्थेटिकमा तयार हुनेछ । ए-१० एसयूभीमा हाइ लेभल इन्टेलिजेन्ट ड्राइभिङ एसिस्ट प्रयोग हुनेछ । सेमी हिडन डोर ह्याण्डल भएको एसयूभीको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम रहने छ । यसमा ह्वीलबेस भने २६०५ एमएम लामो छ ।


१८ इन्चको ह्वील तथा रेक्ट्रयांगुलर आकारमा टेललाइट उपलब्ध हुने ए-१० एसयूभीमा ९० किलोवाट क्षमताको मोटर रहने छ । यो एसयूभी नेपाली बजारको लागि एउटा उत्कृष्ट मोडल बन्न सक्नेछ ।

३. दीपल एस-०३

चांगानले चीनमा निभो ब्राण्डमा ल्याएको क्यू-०५ एसयूभी नेपाल, थाइल्याण्ड लगायतका बजारमा दीपल एस-०३ नामबाट आउने छ । कम्पनीले यसमा रहने ब्याट्री साइजको बारेमा कुनै जानकारी दिएको छैन ।

सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री रहने दीपल एस-०३ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम रहने छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस रहन्छ ।


यसमा १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र १०.१७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर रहने छ । दीपलको आधुनिक टेक फिचरले भरिपूर्ण रहने एस-०३ आगामी सेप्टेम्बरबाट नेपाल बिक्री सुरू हुने अनुमान छ ।

४. जिली ई एक्स टु

जिलीले चीनमा झिङयुआन नामबाट बिक्री गर्दै आएको ह्याचब्याक कार नेपालमा जिली ईएक्स टु र प्रोटोन इमास फाइभ नामबाट उपलब्ध हुनेछ । दुई फरक ब्राण्डमा आउने भए पनि दुवै गाडी एउटै हुन् ।

यो ह्याचब्याक कारमा दुई ब्याट्री र दुई मोटर अप्सन छ । नेपाली बजारमा कति भेरियन्ट आउँछ एकिन छैन । चीनमा उपलब्ध मोडलको आधारमा यसमा ३० र ४० किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री दिइएको छ । जुन ब्याट्री सीएटीएलले उत्पादन गरेको हो ।

कम्पनीले यसमा ५८ र ८५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । सानो ब्याट्रीसँग सानै मोटर छ भने ठूलो ब्याट्रीले ८५ किलोवाटको मोटरलाई इनर्जी प्रदान गर्छ ।

फ्लाइमी अटोको स्मार्ट ककपिट सिस्टम उपलब्ध कारमा १४.१ इन्चको विशाल स्क्रीन पाउन सकिन्छ । चालकलाई सूचना दिन ८.८ इन्चको डिजिटल क्लस्टर दिइएको छ ।

५. एमजी साइबर एक्स

मोरिस ग्यारेजले ‘सांघाई अटो शो २०२५’मा देखाएको साइबर एक्स २०२६ को अन्तिममा बजारमा आउने अनुमान गरिएको छ । साइबर एक्सभन्दा अगाडि एमजीले नेपाली बजारमा अन्य दुई मोडल ल्याउने छ । जसमा एस सिक्स र एमजी फोर अर्बान छन् ।

तर, धेरैले कुरेको साइबर एक्स भने बजारको लागि रोचक मोडल हो । बक्सी बडी डिजाइन भएको साइबर एक्स अल इलेक्ट्रीक भेहिकल हो । यसलाई एसएआइसी ग्रुपको नयाँ मोडुलर इलेक्ट्रीक प्ल्याटफर्म ईथ्री आर्किटेक्चर बनाइने छ । एमजीको नयाँ लाइफ स्टाइल एसयूभी ‘सेल टु बडी’ डिजाइनमा बन्नेछ । एमजीले साइबर एक्सको कुनै पनि टेक्निकल डिटेल्स भने बाहिर ल्याएको छैन ।

६. टाटा सियरा

टाटा सियरा ईभी आगामी ३ महिना भित्रै भारतमा बिक्री सुरू हुने मोडल हो । यसको पेट्रोल र डिजेल डिजेल भर्सन भने भारतमा बिक्री सुरू भइसकेको छ । लगभग समान बडी डिजाइनमा आउने सियरा ईभी अर्को बहु प्रतिक्षित मोडल हो ।

टाटाले सियरा ईभीमा कर्भ ईभी र ह्यारीयर ईभीम प्रयोग भएको ५५ र ६५ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिने अनुमान गरिएको छ । यसअघि कर्भ र ह्यारीयर ईभीमा प्रयोग भएको यी ब्याट्रीले ४०० देखि ५०० किलोमिटरको रियल वर्ल्ड रेन्ज दिने दाबी छ ।


टाटाको सियरा ईभी रियरह्वील र अलह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । टाटा मोटर्सले रोडटेस्ट गरिरहेको सियरा ईभीको फ्रन्टमा क्लोज ग्रिल डिजाइनको साथमा फुलविथ वारवार एलईडी डीआरएल रहेको छ । स्प्लीट हेडल्याम्प, डार्क कलरको बम्पर, फ्रन्ट स्कीड प्लेटले सियरा ईभीलाई म्याचो लुक्स दिएको छ ।

सियरा ईभीको क्याबिनमा कम्बस्चन मोडलको जस्तै ट्रिपल स्क्रीन ड्यासबोर्ड रहने छ । यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो साइजको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्लेको साथमा फ्रन्ट प्यासेन्जरलाई समेत डेडिकेटेड स्क्रीनको अप्सन रहने छ ।


Back_to_top