अर्को महिना बजारमा आउँदै ३ नयाँ कार, यस्तो हुन सक्छ मूल्य

काठमाडौं । आगामी महिना ३ नयाँ कार बजारमा आउने भएको छ । आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै भारतीय बजारमा यी कार सार्वजनिक हुन लागेका हुन् ।

विक्री सुरु हुन लागेका २ अल न्यू मोडल हुन् भने एउटा मोडल नयाँ जेनेरेशनको रुपमा आउन लागेको हो । टाटाको बहुप्रतिक्षित माइक्रो एसयूभी हर्नवील र फक्सवागन टाइगुन नयाँ मोडल हुन् । त्यसैगरी मारुती सुजुकी सेलेरियो नयाँ जेनेरेशन मोडल हो ।

यी तीनवटै मोडल आगामी सेप्टेम्बरमा भारतबाट विक्री सुरु हुँदैछन् । त्यसको केही साता भित्रै नेपाल आउने यी कार मूल्यको हिसावले पनि उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ ।

फक्सवागेन इन्डियाको प्रोजेक्ट २.० अन्तर्गत बनेको टाइगुन यी तीन कार मध्ये सबैभन्दा ठूलो र धेरै मूल्यको हुनेछ । नेपाल आउँदा टाइगुनको मूल्य करिब ५२ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

फक्सवागेनको १.० लिटर टिएसआई इन्जिन जडान भएको यो कारले बजारमा हुन्डाई क्रेटा, निसान किक्स, किया सेल्टोस र स्कोडा कुशकसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

आधुनिक फिचरले भरिएको यो एसयूभी सेप्टेम्बर अन्तिम साता नेपाल ल्याउने तयारी भइरहेको छ ।

टाटाको बहुप्रतिक्षित माइक्रो एसयूभी पनि सेप्टेम्बरमा भारतमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । १.२ लिटर क्षमताको इन्जिन रहने यो गाडीको नाम अहिलेसम्म बाहिर आएको छैन । यद्यपी हर्नवील नामबाटै आउने अपेक्षा गरिएको छ । यसको मूल्य ३० लाखभन्दा कम हुने अपेक्षा गरिएको छ ।

यसले बजारमा मारुती सुजुकी इग्नीस, केयूभी १०० र रेनो क्वीड जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । यसको सुरुवाती मूल्य २६ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

मारुती सुजुकीको चर्चित ह्याचव्याक सेलेरियो सन् २०१४ पछि पहिलो पटक नयाँ जेनेरेशन मोडलकोरुपमा आउन लागेको हो । यसअघि १.० लिटर इन्जिनमा मात्रै उपलब्ध रहेको थियो । अब यो मोडल १.२ लिटर इन्जिनमा पनि उपलब्ध हुने बताइएको छ ।

भारतमा विक्री सुरु भएको केही दिनपछि नै नयाँ जेनेरेशन सेलेरियो नेपाल आउने अपेक्षा गरिएको छ ।


Back_to_top