दशैंमा कार किन्नेलाई छनोट धेरै, मोटरसाइकलमा यी हुन् नयाँ आउन सक्ने मोडल

काठमाडौं । चाडपर्व सुरु हुनै लागेको छ । चाडपर्वमा धेरै निजी सवारी साधनको विक्री हुने भएकाले आयातकर्ता कम्पनीहरु नयाँ मोडलको तयारी गरिरहेका हुन्छन् । तर, लामो कोभिड १९ को कारण यो वर्ष मोटरसाइकलमा नयाँ मोडल आयात न्यून प्रायः रहेको छ ।

दशैंअघि यामाहाले नयाँ मोडल एफजेड एक्स नेपाल ल्याउने तयारी गरेको छ । यसको अलावा केटीएम ७५० ड्यूक, होन्डा सिबी ३५० आरएस, होन्डा हर्नेट २.०, रोयल इन्फिल्ड मेटोर, नयाँ इन्जिनमा आर १५ भि थ्री जस्ता मोडल छन् ।

टीभीएसले आफ्नो केही मोडल अपग्रेड गरेर ल्याउँदै छ भने बजाज, हिरो, सुजुकी जस्ता ब्राण्डसँग नयाँ मोडल छैनन् ।

कार सेग्मेन्टमा भने ग्राहकले धेरै छनोट पाउन सक्ने छन् । दशैं तिहारमा नयाँ गाडी किन्ने ग्राहकले हुन्डाईको नयाँ जेनेरेशन आई २०, नयाँ जेनेरेशन टुसान र शान्ता फे जस्ता मोडल पाउने छन् ।

सुजुकी ग्राण्ड भिटारा र जिम्नी पनि ग्राहकले खरिद गर्न सक्ने छन् । यी दुबै मोडल सुजुकी जापानले उत्पादन गरेका मोडल हुन् । मारुती सुजुकीको भारतीय उत्पादनको नयाँ मोडल भने नेपाल आउने क्रममा अहिले छैन ।

स्कोडा कुशक दशैं अगाडि नयाँ गाडी खोज्नेको लागि नयाँ विकल्प हुनेछ । कम्पनीले केही दिनअघि मात्रै नेपालमा यसको विक्री सुरु गरेको हो । निसानको इलेक्ट्रीक कार लिफ पनि दशैंमा किन्न पाइने नयाँ कारमा पर्छ ।

रेनो काइगर पनि अर्को नयाँ मोडल हो । सब फोर मिटर सेग्मेन्टमा आएको रेनो काइगर सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा बजारमा परिचित रहेको छ ।

टाटाको विद्युतीय कार नेक्सन इभी र सफारी दशैंमा गाडी किन्ने ग्राहकले नयाँ मोडलको रुपमा पाउने छन् । नेक्सन इभी अहिले नै निकै राम्रो संख्यामा बुकिङ भइरहेको कम्पनीले जनाएको छ ।

फक्सवागेन टाइगुन पनि दशैंअघिसम्ममा नेपाल ल्याउने प्रयास भइरहेको आधिकारीक वितरक पुजा इन्टरनेशनलले जनाएको छ ।

नयाँ ब्राण्डको रुपमा नेपाल आएको ग्रेटवाल, हावल, चाङ्गन, चेरीले नेपाल ल्याउने नयाँ मोडल ग्राहकको लागि नयाँ कार हुने छन् । यसका अलावा विद्युतीय कारहरु पनि दशैंअघि नै नेपाल आउने तयारीमा रहेका छन् ।


Back_to_top