आउँदै ५ आकर्षक इलेक्ट्रीक एसयूभी, तपाईको रोजाई कुन ?

काठमाडौं । विद्युतीय कारको बजार हरेक दिन बढ्दो र इन्टरनल कम्बस्चन इन्जिनको माग निरन्तर घट्न थालेसँगै विश्वका हरेक कुनामा उत्पादन भएका विद्युतीय कार नेपाल ल्याउने प्रयास जारी छ । यस क्रममा चीन, भारत, दक्षिण कोरियादेखि अमेरिकाबाट समेत ईभी आयात हुँदै आएका छन् ।

बढ्दो ईभी बजारमा नयाँ मोडल ल्याउने प्रतिस्पर्धा चल्नु स्वभाविक हो । सन् २०२४ को नजिक आइपुग्दा हुन्डाई, चांगन, स्मार्ट, टाटा र टेस्लाले नेपाली बजारमा नयाँ कार ल्याउने तयारी तिब्र बनाएका छन् ।

अहिले कुल कार बजारको करिब ६० प्रतिशत ईभीको बजार हिस्सा छ भने ईभीमा पनि ५० लाखदेखि ६५ लाखसम्मको बजार हिस्सा करिब ६५ प्रतिशत देखिन्छ । उक्त मार्केटमा आफुलाई बलियो देखाउन नयाँ मोडल ल्याउन कति पनि ढिला गर्ने पक्षमा आयातकर्ता कम्पनी देखिदैनन् ।

सन् २०२४ मा सबैभन्दा पहिला नेपाली बजारमा कुन मोडल आउँछ एकिन साथ भन्न सकिदैन । यद्यपि, नयाँ जेनेरेशन टाटा नेक्सन ईभी, नयाँ जेनेरेशन हुन्डाई कोना, चेरी ओमोडा ई–५, चांगनको दिपल एस७ र टेस्लाको नयाँ जेनेरेशन मोडल थ्री नेपाल आउने मोडलमा पर्छन् ।

टाटा नेक्सन ईभी फेसलिफ्ट

सिप्रदी ट्रेडिङले सन् २०२१ र २०२२ मा सर्वाधिक बिक्री गरेको नेक्सन ईभी आफ्नो स्वरुप परिवर्तन गरेर बजारमा आउने भएको छ । भारतमा बिक्री सुरु भइसकेको फेसलिफ्ट नेक्सनको डिजाइन पूर्ण रुपमा परिवर्तन भएर आउन लागेको हो ।

टाटा मोटर्सले यसमा ४०.२ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएर नेपाली बजारमा ल्याउने छ । यसको मूल्य पनि लगभग अहिले रहेको नेक्सन म्याक्स हाराहारी नै हुने अपेक्षा गर्न सकिन्छ ।

नयाँ जेनेरेशन हुन्डाई कोना

सन् २०१८ को अन्तिममा नेपाल आएको हुन्डाई कोना एक उत्कृष्ट क्रसओभर हो । नेपालमा निकै राम्रो प्रतिक्रिया पाएको कोना अन्य ब्राण्डका आकर्षक विद्युतीय गाडी कोनाभन्दा कम मूल्यमा बिक्री सुरु भएपछि बजारमा चर्चा कम भएको मोडल हो ।

कोरियन निर्माताले अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो प्रतिक्रिया पाउन थालेको नयाँ जेनेरेशन कोना २०२४ को पहिलो क्वाटरमा नै नेपाली बजारमा उतार्ने अनुमान गरिएको छ । पहिलेको भन्दा ठूलो ब्याट्री साइजमा आउने कोना पुरानै १०० किलोवाट क्षमताको मोटरमा नेपाल आउने बताइन्छ । यसमा ब्याट्री साइज भने ३९.२ किलोवाट आवरबाट बढाएर ४४ किलोवाट आवर बनाइएको छ । यसको रेन्ज पनि पहिलेभन्दा बढी हुनेछ ।

टेस्ला मोडल थ्री

टेस्लाको मोडल थ्री२०१७ पछि पहिलो पटक परिमार्जन भएर आउन लागेको हो । कम्पनीले यसलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा ल्याएको छ । अन्तर्राष्ट्रिय बजारमा ४२ हजार अमेरिकी डलरदेखि मूल्य कायम भएको मोडल थ्री नेपाली बजारमा पनि आउने छ ।

मोडल थ्रीको लङ रेन्ज भर्सनमा ७५ किलोवाट आवर र अल ह्वील भर्सनमा ७९ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । डब्लूएलटीपीका अनुसार लङ रेन्ज मोडलले ६२९ किलोमिटर र अल ह्वील ड्राइभ भर्सनले ५९१ किलोमिटर रेन्ज दिनेछ ।

चेरी ओमोडा ई–५

चेरी ओमोडा नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको आधिकारीक बिक्रेता एसपीजी ओटोमोवाइलले जनाएको छ । चीनमा यसको राइटह्याण्ड ड्राइभको पनि परिक्षण सकिएकाले सन् २०२४ को पहिलो क्यावाटरमा नै ओमोडा नेपाल आउने अनुमान गर्न सकिन्छ ।

कम्पनीले ओमोडा ई–५ लाई नेपाली बजारमा ६१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट आवरको मोटरमा ल्याउने छ ।

दिपल एस७

चांगनको सहायक ब्राण्ड दिपलको एस७ नेपाल आउने पक्का भएको छ । कम्पनीको स्मार्ट इन्टेलिजेन्स सिस्टम भएको यो प्रिमियम इलेक्ट्रीक क्रसओभर मोडल नेपाल आउने भएको छ । यसलाई चाँडै नेपाली बजारमा ल्याउने एमएडब्लू वृद्धिले जानकारी दिएको छ ।

चिनियाँ बजारमा दुई मोटर अप्सनमा उपलब्ध दिपल एस७ मा १६० किलोवाट र १९० किलोवाट क्षमताका दुई मोटर उपलब्ध छन् । नेपाल कुन मोटर साइजमा आउँछ भन्ने अहिल्यै एकिन जानकारी प्राप्त भएको छैन ।

कम्पनीले यसमा मोटर मात्र होइन, ब्याट्री पनि दुई अप्सनमा दिइएको छ । कम्पनीले ६६.८ किलोवाट आवर र ७९.९७ किलोवाट आवरको दुई ब्याट्री छनोटमा दिएको हो । सानो ब्याट्रीले ५२० र ठूलो ब्याट्रीले ६२० किलोमिटर रेन्ज दिने चिनियाँ टेष्टीङ एजेन्सी सीएलटीसीले प्रमाणित गरेको छ ।

 


Back_to_top