काठमाडौं । बीवाइडी एटो ३ को मुख्य प्रतिस्पर्धी एटो-३ नै देखिएको छ । सुरुमा १५० किलोवाट, त्यसपछि १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध एटो-३ असारमा ५० किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा पनि उपलब्ध भयो ।
सुरुमा ६० किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटरमा आउँदा ६५ लाख हाराहारी मूल्य रहेको एटो ३ करिब १५ लाख कम मूल्यसहित ५० किलोवाट आवरको मोटरमा आएको हो । अझ १५० किलोवाट क्षमताको मोटर जडान भएको मोडलको मूल्य ९० लाख हाराहारी थियो ।
एउटै डिजाइन, अधिकांश मुख्य फिचरहरु समान रहेको कारण एटो-३ किन्न चाहने मानिसले कम मूल्यको मोडलमा आकर्षित भएको देखियो । चालु आर्थिक वर्षको पहिलो चार महिना साउन, भदौ, असोज र कार्तिकमा गरेर ८ सय ४ यूनिट एटो-३ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
आधिकारीक बिक्रेता साइमेक्स इंकले ६० किलोवाट आवर क्षमताका ३४४ यूनिट एटो-३ आयात गर्दा ५० किलोवाट आवरको ब्याट्रीमा ४६० यूनिट गाडी ल्याएको हो ।
कम्पनीले साउनमा ५६ यूनिट, भदौमा ७८ यूनिट, असोजमा १०५ यूनिट र कार्तिकमा ६५ यूनिट ६० किलोवाट आवरको ब्याट्री भएको एटो-३ आयात गरेको देखिन्छ ।

त्यसैगरी ५० किलोवाट आवर क्षमताको भर्सन भने साउनमा ९४ यूनिट, भदौमा १०३ यूनिट, असोजमा ११९ यूनिट र कार्तिकमा ६४ यूनिट आयात भएको देखिन्छ । एटो-३ को सानो ब्याट्री भर्सनलाई कम्पनीले असारबाट बजारमा ल्याएको हो । असारमा पहिलो लट नै ८० यूनिट आयात भएको थियो ।
एटो-३ को १५० किलोवाट मोटर भएको भर्सन पनि चालु आर्थिम वर्षको साउन र भदौमा गरेर ५ यूनिट आयात भएको देखिन्छ । यसले अहिले पनि १५० किलोवाट क्षमताको मोटरमा एटो ३ खोज्ने भेटिएका छन् ।


