नयाँ वर्षमा ४ नयाँ एसयूभी आउने

काठमाडौं । नयाँ वर्ष २०८१ को छेउछाउ पारेर विभिन्न ब्राण्डहरुले नयाँ मोडल नेपाल ल्याउने तयारी गरेका छन् । नयाँ वर्षको अवसरमा नेटा एक्स, टाटा पन्च, हुन्डाई क्रेटा फेसलिफ्ट र दिपल एस-७ नेपालमा बिक्रीको लागि उपलब्ध हुने अनुमान गरिएको छ ।

नयाँ वर्षमा कम्पनीहरुले विभिन्न स्कीम नै ल्याएर गाडी बिक्री गर्ने गरेको कारण उपभोक्तहरु पनि गाडी किन्ने योजना बनाएर बस्ने गरेको देखिन्छ । यदि, तपाई पनि नयाँ वर्षमा नयाँ कार किन्ने योजना बनाएर बस्नु भएको छ भने आउँदै गरेका मोडलहरु तपाईको रोजाईमा पर्न सक्छन् ।

चिनियाँ ब्राण्ड नेटाको लागि आधिकारीक बिक्रेता सिजी मोटर्सले नेटा एक्स नेपाल ल्याउने घोषणा यसअघि नै गरेको छ । अहिले बुकिङ समेत खुल्ला रहेको नेटा एक्स अर्को साता भित्र केही यूनिट नेपाल आइपुग्ने कम्पनीको भनाइ छ ।

अहिले चल्तीका इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आउने नेटा एक्स दुई ब्याट्री अप्सनसहित तीन भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य ५२ लाखदेखि ६० लाखसम्म पर्ने कम्पनी स्रोतले जनाएको छ ।

माइक्रो एसयूभी सेग्मेन्टमा टाटाले ल्याएको पन्च पनि इलेक्ट्रीक मोडल नै हो । निकै आकर्षक डिजाइन, सुरक्षा फिचरले भरिपूर्ण टाटा पन्च सानो ग्यारेज हुनेहरुको लागि पनि उपयुक्त मोडल हो ।

टाटाले पन्च पनि दुई ब्याट्री अप्सनमा ल्याउने छ । मोटर पवार पनि १०० किलोवाटभन्दा कम क्षमतामा आउने पन्चको मूल्य ३० देखि ४० लाख भित्र रहने अनुमान गर्न सकिन्छ । आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले भने यसको मूल्यको विषयमा कुनै जानकारी दिएको छैन ।

हुन्डाईको सर्वाधिक सफल एसयूभी क्रेटा फेसलिफ्ट पनि आगामी मे महिनासम्ममा नेपाल आउने छ । आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याउने नयाँ क्रेटा धेरै कुरा परिमार्जन भएर आउन लागेको हो ।

सुरक्षाको एडास २ फिचर, अगाडि र पछाडि नै परिमार्जन भएको क्रेटामा ड्यासबोर्डमा पनि ठूलो परिवर्तन पाउन सकिने छ । यसको इन्जिन भने पुरानै १.५ लिटर पेट्रोल र डिजेल रहने छ । टर्बो इन्जिन भने सम्भवत नेपाल आउने छैन । यसको मूल्य ५४ लाखदेखि ८० लाख भित्रका विभिन्न भेरियन्ट उपलब्ध हुनेछ ।

दिपल एसएल ७ सेडान र एस ७ एसयूभी पनि बैशाखबाट बिक्री सुरु हुनेछ । यी दुबै कार चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलले उत्पादन गरेको हो । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले यी कारको मूल्य ६५ लाखदेखि ७५ लाख रुपैयाँसम्म कायम गरेर बिक्री वितरण सुरु गर्ने अनुमान गरिएको छ ।


Back_to_top