इलेक्ट्रीक कार ब्राण्डमा बढ्दै उथलपुथल, पछि हट्यो एप्पल

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो टेक जाइन्ट एप्पलले आफ्नो १० वर्ष पुरानो इलेक्ट्रीक कार उत्पादन गर्ने योजना रद्द गरेको छ । कम्पनीले तत्काल विद्युतीय कारमा त्यति ठूलो सम्भावना नभएको आफ्नो अध्ययनले देखाएको भन्दै विद्युतीय कार प्रोजेक्ट बन्द गरेको हो ।

अमेरिकी स्टार्टअप कम्पनी फिस्करले ब्योहोरेको घाटासँगै अमेरिकी ईभी उत्पादनमा लागेका कम्पनीहरु समस्यामा देखिएका छन् । त्यसको पछाडिको कारण अमेरिकामा ईभीको प्रयोग बढ्न नसक्नु पनि हो ।

अहिलेसम्म स्टार्टअपको रुपमा खुलेको अमेरिकी ब्राण्ड टेस्ला र चिनियाँ ब्राण्ड बीवाइडीले विद्युतीय साधन उत्पादनमा महारथ हासिल गरेका छन् । अब यी दुई ब्राण्ड विश्व अटोमोवाइलमा ठूला कम्पनीको सूचिमा सूचिकृत भइसकेका छन् । यी ब्राण्डका अलावा अन्य विद्युतीय कार मात्रै बनाउन आएका कुनै पनि कम्पनी नाफामा छैनन् ।

करिब आधा दर्जन जति चिनियाँ ईभी उत्पादन गर्ने कम्पनीले बैंकरप्सी फाइल गरेसँगै अहिले सयौंको संख्यामा रहेका चिनियाँ स्टार्टअप कम्पनीहरुको बिक्री वितरण सुरु भएको छ । यूरोप र अमेरिकी ब्राण्डसँगै चिनियाँ पुराना ब्राण्डहरुले पनि स्टार्टअप कम्पनीहरु धमाधम खरिद गर्न थालेका छन् ।

अहिले चिनियाँ ब्राण्ड ग्रेटवाल, चांगन, जिली, डोङफेङ, चेरी जस्ता ब्राण्डले विद्युतीय कार उत्पादन गर्ने स्टार्टअप कम्पनीहरु किन्न खोजिरहेका छन् । अझ चिनियाँ मिडियाहरुका अनुसार खरिद बिक्रीको लागि मोलमोलाई चलिरहेको छ ।

यूरोपियन ब्राण्ड फक्सवागेनदेखि जापनी ब्राण्ड टोयोटासम्मले राम्रा स्टार्टअप कम्पनी खरिदको लागि कुरा अगाडि बढाएका छन् । यसले विस्तारै इलेक्ट्रीक स्टार्टअप कम्पनीहरु मर्जर र एक्विजीसनमा जाने देखाउँछ ।

चीनमा हाईफी, नेटा, लिफ, एनआईओ, एक्सपेङ जस्ता चर्चित ब्राण्डहरुले नै कुनै बलियो सपोर्ट खोज्न थालेका छन् । यी कुनै पनि ब्राण्ड नाफामा जान सकेका छैनन् । यस्तोमा कालान्तरमा यी ब्राण्डले मर्जरको बाटो समाउने बताइन्छ ।

यी मध्ये लिप मोटर्सले फक्सवागेनसँग र हाईफीले चिनियाँ ब्राण्ड चांगनसँग सहकार्य गर्ने अन्तिम तयारी गरिरहेका छन् ।


Back_to_top