काठमाडौं । विद्युतीय कार नेपालमा सर्वाधिक चर्चामा रहेको सवारीसाधन हो । विशेषत भारतीय सवारी उत्पादकको बर्चश्व रहेको हाम्रो जस्तो देशमा विद्युतीय साधनको माध्यमबाट चिनियाँ उत्पादनको आयात पनि बढ्दै गएको छ ।
सहज आवतजावत, भाषागत सहजता र समान भौगोलिक अवस्थाको कारण भारतमा बनेका कार नेपालमा धेरै रुचाईन्छ । सन् २०२३ मा भारतमा गाडी उत्पादन गर्ने विभिन्न उत्पादकले विद्युतीय गाडी ल्याउने तयारी गरिरहेको कारण नेपालमा पनि विद्युतीय कारमा छनोट बढ्ने देखिन्छ ।

सन् २०२३ लाई ध्यानमा राखेर भारतीय उत्पादक टाटा र महिन्द्राले टियागो र एक्सयूभी ४०० बजारमा ल्याउने छन् । टाटा टियागो ईभी सन् २०२३ को अन्त्यसम्ममा बजारमा आउने छ भने, महिन्द्राको एक्सयूभी ४०० अबको ४ महिनापछि विक्री सुरु हुनेछ । यी दुबै मोडल नेपाल आउने छन् ।
यी दुई ब्राण्ड बाहेक फ्रेन्च ब्राण्ड सिट्रोनले आफ्नो सिथ्रीको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने छ । मार्च २०२३ मा बजारमा आउने बताइएको सिथ्री ईभी साना एसयूभी चाहनेको रोजाईमा पर्ने देखिन्छ ।

यसका अलावा कोरियन ब्राण्ड हुन्डाई र कियाले पनि सब कम्प्याक्ट एसयूभी सेग्मेन्टमा रहेका भेन्यू र सानेटलाई ईभीको रुपमा बजारमा ल्याउने छन् । यी दुबै एसयूभीले टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्ने छन् ।
अमेरिकी कम्पनी जीपको एभेन्जर एसयूभी पनि ईभीमा आउने छ । सन् २०२३ को मध्येसम्ममा एभेन्जर ईभी नेपाल नै आउने छ । साथै, रेनोको क्वीड ईभी पनि सन् २०२३ मा नेपाल आउन सक्ने मोडल हो । बीवाइडी डल्फिन र सिल, एमजी फोर र एमजी सिटी कार पनि सन् २०२३ मा नेपाल आउने छन् ।
अधिकांश ब्राण्डल नयाँ पाइपलाइनमा राखेका मोडलहरु नेपाल आउने भएको कारण ग्राहकले धेरै छनोट पाउने छन् ।

