काठमाडौं । कार निर्माता कम्पनीहरुले कम मूल्यका कारमा पनि हाइटेक फिचरहरु दिन थालेका छन् । त्यसमा पनि प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आउने कारमा झनै उत्कृष्ट फिचर हुने नै भए ।
नेपाली बजारमा आउने क्रममा रहेको नयाँ जेनेरेशन हुन्डाई आई २० इलाइट र टाटा अल्ट्रोजको आई टर्बो भेरियन्टमा निकै उत्कृष्ट प्रविधिको प्रयोग भएको छ ।
दुबै कारमा टर्बो इन्जिन अप्सन दिइएको छ । हुन्डाईले १.० लिटर टर्बो र १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिन दिएको छ भने स्वभाविक रुपमा टाटा अल्ट्रोज आई टर्बो भन्ने वित्तिकै टर्बो इन्जिन हुने नै भयो । यसमा कम्पनीले १.२ लिटर क्षमताको टर्बो इन्जिन उपलब्ध गराएको छ ।
यी दुबै कारमा कनेक्ट कार फिचर उपलब्ध रहेको छ । टाटाले अल्ट्रोज आई टर्बोमा हाइट अग्लो बनाउन मिल्ने सिट, मल्टी ड्राइभ मोड, रियर आर्मरेष्ट, एकै स्थानबाट सबै झ्यालको सिसा बन्द गर्न सकिने, गर्मीमा एकैछिनमा कार चिसो बनाउन सकिने, क्रुज कन्ट्रोल, पुस बटम स्टार्ट/अफ जस्ता आधुनिक फिचर प्रदान गरेको छ ।
हुन्डाईले आई २० मा पनि ती अधिकांश फिचर पाउन सकिन्छ । साथै, एलइडी प्रोजेक्टर हेडल्याम्प र १६ इन्चको डायमण्ड कट अलोय ह्वील, सिल्क लुकिङ ग्लास, बोसको स्पीकर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्याक फिनिसिङ इन्टेरियर, नयाँ एसी भेन्ट, नयाँ स्टेरिङ ह्वील, वायरलेस चार्जर, ग्लोवबक्स, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, हुन्डाईको व्ल्यू लिंक कनेक्टेड कार फिचर जस्ता विशेषता दिएको छ ।
हुन्डाई आई २० ले इन्डियन कार अफ दि एयर (आईकोटी) अवार्ड २०२१ समेत जित्न सफल भइसकेको छ । नेपाली बजारमा यी दुबै कार एक अर्काका प्रतिस्पर्धी मोडलको रुपमा आउने छन् । तर, हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यी कार कुन मितिमा नेपाल आउँछन् भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् ।

