काठमाडौं । फक्सवागनले आफ्नो कम्प्याक्ट एसयूभी टाइगुनको उत्पादन मोडल सार्वजनिक गरेको छ । कम्पनीले अटो एक्स्पो २०२० मा यसको कन्सेप्ट शोकेस गरेको थियो ।
विशेषत भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्ससँग प्रतिस्पर्धा गर्न ल्याएको नयाँ टाइगुन भारतमा नै उत्पादन भएको मोडल हो । फक्सवागन ग्रुपको ‘भिजन इन’मा आधारित यो एसयूभी ‘एमक्यूबी–एओ इन’ प्ल्याटफर्ममा तयार भएको हो ।
होरिजेन्टल ग्रिल, ग्रिलमा चंकी क्रोम, फगल्याम्प, १७ इन्चको अलोय ह्वील, २६५१ एमएमको ह्वीलवेस, प्रोजेक्टर हेडल्याम्प, जस्ता फिचर यसको एक्सटेरियरमा पाउन सकिन्छ । साथै, कम्पनीले यसलाई निकै बल्की डिजाइनमा तयार गरेको छ ।
इन्टेरियर पनि उत्कृष्ट बनाउने प्रयास गरिएको छ । लेगरुम र हेडरुम उत्कृष्ट रहेको कम्पनीको दाबी छ । गाडीलाई आरमदायी बनाउन कम्पनीले कुनै कसर बाँकी नराखेको रिपोर्टहरुमा दाबी गरिएको छ ।
१० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सफ्ट टच मेटिरियलले बनेको ड्यासबोर्ड, सानो सनरुफ, ६ वटासम्म एयरव्याग जस्ता विशेषता यसमा पाउन सकिन्छ । कम्पनीले यसमा १.० लिटर र १.५ लिटर टिएसआई इन्जिन दिइएको छ । टर्बो इन्जिनको कारण कारको पावर उत्कृष्ट रहने अनुमान गर्न सकिन्छ ।
यसमा रहेको १.० लिटर टिएसआई इन्जिनले अधिकतम ११५ पीएस पावर प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ । १.५ लिटर इन्जिनमा भने ७ स्पीड डिएसजी गियरबक्स दिएको छ । यसको विक्री भने आगामी अगष्ट महिनाबाट मात्रै भारतमा सुरु हुने छ ।
फक्सवागनको नेपालको लागि आधिकारीक वितरक पुजा इन्टरनेशनलले टाइगुनलाई नेपाली बजारमा ल्याउने छ । यसको मूल्यको विषयमा भने अहिले कुनै आधिकारीक जानकारी कम्पनीले दिएको छैन ।


