काठमाडौं । आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ को स्टल बुकिङ अहिले खुलिरहेको छ । अहिलेसम्म कुन कुन कम्पनीले अटो शोमा भाग लिन्छन्, त्यसको एकिन जानकारी भने आएको छैन ।
सन् २०१९ पछि पहिलो पटक आयोजान हुन लागेको नाडा अटो शो २०२३ मा करिब दुई दर्जन ब्राण्डले सहभागिता जनाउने अनुमान सुरु भएको छ । झण्डै २४ कम्पनी अटो शोमा सहभागी हुने हुँदा सबैले ग्राहकलाई आकर्षित गर्न केही न केही नयाँ गर्ने नै छन् ।
सबै कम्पनीको पहिलो लक्ष्य आफ्नो प्रोडक्ट लाइनअपलाई बलियो बनाउने हुनु स्वभाविक हो । अटो शोमा भाग लिने अधिकांश ब्राण्डसँग नयाँ गाडी उपलब्ध हुनेछ । यस हिसावले अटो शोमा उपलब्ध हुने तीन उत्कृष्ट कार छनोट गर्नु निकै कठिन काम हुन सक्छ ।
विद्युतीय कारमा टाटा, एमजी, बीवाइडी, महिन्द्रा, किया, चेरी, सेरेस लगायतका ब्राण्डले ईभी ल्याउने जनाएका छन् । इन्टरनल कम्बस्चन इन्जिन भएका कारहरु मारुती सुजुकी, हुन्डाई, टाटा, स्कोडा, फक्सवागेन, महिन्द्रा लगायतका ब्राण्डले ल्याउने छन् ।
यस मध्ये नाडा अटो शो २०२३ मा आउने र चर्चा कमाउने इन्टरनल कम्बस्चन इन्जिन भएका तीन कारको बारेमा हामीले यहाँ उल्लेख गर्न लागेका छौं ।
टाटा पन्च
कम मूल्यमा माइक्रो एसयूभी खोज्ने ग्राहक लक्षित टाटा पन्च अटो शोमा सार्वजनिक हुनेछ । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले यसलाई पहिल्यै नेपाल ल्याउने तयारी गरेको थियो । तर, घट्दा माग र बजारमा देखिएको आर्थिक संकटको कारण टाटा पन्च नेपाल आएको थिएन ।
भारतमा उत्पादन सुरु भएको १० महिनामै एक लाख यूनिट बिक्री पुरा गरेर आफ्नो लागि रेकर्ड बनाएको पन्च अहिलेसम्म भारतमा २ लाख २० हजार यूनिट उत्पादन र बिक्री भइसकेको छ । टाटाले यसलाई २०२१ अक्टोबरमा बजारमा ल्याएको थियो ।

टाटा पन्च माइक्रो एसयूभी सेग्मेन्टमा टाटाको पहिलो कार हो । यसले ग्लोबल क्रयास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएसँगै विक्रीमा पनि उछाल आएको हो । साइजमा सानो भएपनि डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार भएको कारण नै भारतमा यसको विक्री राम्रो भएको मानिन्छ ।
टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ । साथै, टप भेरियन्टमा १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर पाउन सकिन्छ ।
टाटा पन्चमा पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरब्याग, एबीएस, इबीडी, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।
मारुती सुजुकी जिम्नी
सुजुकी जिम्नी नेपालको लागि नयाँ नाम होइन । तर, भारतमा उत्पादन भएर आउन लागेको जिम्नी पूर्णत नयाँ मोडल हो । ५ ढोका भएको नयाँ जिम्नी केही महिना अघि मात्रै भारतमा सार्वजनिक भएको थियो ।
सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटर्सले ५ ढोका भएको जिम्नी अटो शोमा देखाउने तयारी गरिरहेको छ । भारतमा बिक्री सुरु हुनु अघि नै जिम्नीले ३० हजार यूनिट बुकिङ पाएको थियो ।

जिम्नीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०५ पीएस पावर र १३४ एनएम टर्क प्रदान गर्छ । यसमा फोर स्पीड टर्क कन्भर्टर अटोमेटीक र फाइभ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । भारतीय रिसर्च एजेन्सी एआरएआईले प्रतिलिटर १६.३९ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।
यो एसयूभीमा ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा एयर ब्याग, इएसपी, हिल होल्ड असिस्ट लगायत फिचर्स पाउन सकिन्छ ।
यसमा हिल डिसेन्ट कन्ट्रोल, रियर भ्यु क्यामेरा, एबीएस, इबीडी जस्ता सुरक्षाका फिचर्स दिइएको छ ।
हुन्डाई एक्सटर
टाटा पन्चको मुख्य प्रतिस्पर्धी भनेर भारतमा खुब चर्चा कमाइरहेको हुन्डाई एक्सटर पनि नेपाल आउने छ । केही दिनअघि मात्रै भारतमा बिक्री सुरु भएको एक्सटर नाडा अटो शो २०२३ मा नेपाल आउने अनुमान गरिएको छ । हुन्डाईसँग अटो शोको लागि पूर्णत नयाँ मोडल नभएको समयमा भारतमा एक्सटर लन्च भएको कारण अटो शोमा एक्सटर सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याउने एक्सटर फिचर लोडेड माइक्रो एसयूभी हो । यसको लम्बाई ३८१५ एमएम, चौडाई १७१० एमएम र उचाई १६३१ एमएम रहेको छ । यसमा २४५० एमएमको ह्वीलवेस र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
विभिन्न ६ कलर अप्सनमा पाउन सकिने एक्सटर हुन्डाई ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा बनेको हो । कम्पनीले यसमा ४.२ इन्चको एमआईडी डिजिटल क्लष्टर दिएको छ । यसमा रियल टाइम फ्यूल इफिसीयन्सी र ट्रिप प्यारामिटरको रिडिङ पनि रहेको छ । हुन्डाईले एस्टरको इन्ट्रुमेन्ट क्लस्टरमा स्थानीय भाषामा अंक र अक्षर आउने फिचर दिएको छ ।
यसका अलावा एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रि, ड्यास क्याम जस्ता फिचरहरु दिएर फुल्ली डोडेड एसयूभी बनाएको छ ।
निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । यसले अधिकतम ८३ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसलाई ५ स्पीड म्याुअल र ५ स्पीड एएमटी गियरबक्समा ल्याएको छ ।
अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइटले यसलाई युवा लक्षित मोर्डन एसयूभी बनाएको छ ।

