बुटवलका अटो व्यवसायीलाई नाडाको कर, भन्सार र भीसीटीएसको तालिम

बुटवल । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा बुटवलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९ औं विश्व भन्सार दिवसको अवसरमा व्यवसायीहरुलाई कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण दिइएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अनुरोधमा भएको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी सहितको प्रशिक्षण कार्यक्रम भएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमका सभापति तथा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सिमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेकोमा धन्यवाद दिए । ‘प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिवृद्धिमा र कर सम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको छ,’ उनले भने ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्व कार्यालयका प्रमुख ध्रुव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार विसी, तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका कूल ५२ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरि, नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया लगायतको उपस्थिति रहेको थियो ।


Back_to_top