काठमाडौं । नेपालमा सवारी साधनको उत्पादनकाे सम्भावना रहे पनि धेरै चुनौतीहरू रहेको सरोकारवालाले बताएका छन् । मेरोअटोले बुधबार आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ २०८१’को ‘सवारी उत्पादनको नयाँ गन्तव्य’ सत्रमा आफ्नो धारणा राख्दै वक्ताहरूले यस्तो बताएका हुन् ।
गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले नेपालमा आफ्नै ब्राण्डको सवारी उत्पादनको समेत सम्भावना रहेको बताए । उनले विगतमा नेपालमा पनि सवारी उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण शेर्पा गाडी बनेकाले भविष्यमा पनि सम्भावना रहेको बताए ।
उनले विश्वका जुनसुकै देशमा एसेम्बली उद्योग स्थापित भएपछि एन्सिलरी उद्योग आउने र त्यसपछि मात्र सवारी उत्पादन भएको उनले बताए । ‘भारतमा मारुतीको एसेम्बली सुरू भएको १५ वर्षमा इको सिस्टम बनेको थियो,’ उनले भने, ‘नेपाल पनि एसेम्बली उद्योग स्थापित हुँदै छन् । क्रमशः एन्सिलरी उद्योग आउन थालेका छन् । यी दुवै सफल भएपछि भविष्यमा आफ्नै ब्राण्ड बनाउने सम्भावना समेत देखिन्छ ।’
नेपालमा अहिले एसेम्बली उद्योगहरू स्थापित हुने क्रममा रहेको बताए । हुलास अटोक्राफ्टले प्लाण्ट स्थापना गरेपछि अहिले ७ वटा प्लाण्ट स्थापना भइसकेकाे उनले जानकारी दिए । अहिले नेपालमा बिक्री हुने करिब ९० प्रतिशत मोटरसाइकल नेपालमै एसेम्बल हुने उनकाे भनाइ छ । एउटा प्लाण्ट स्थापना गर्न ७० देखि १०० करोडसम्म लगानी हुने बताए । हाल नेपालमै ब्याट्री, टायर, लुब्रिकेन्ट्स लगायत वस्तु समेत नेपालमै उत्पादन हुन थालेको उनले बताए ।
उच्च लागतका कारण जेन्युन भ्यालु एडिसन हुन नसकेको उनले बताए । ढुवानी खर्च महँगो हुनु, मजदुरको उत्पादकत्व कम हुनु, जग्गा महँगो हुनु, बिजुलीको उपलब्धता र मूल्य लगायत कारण नेपाली वस्तुको उत्पादन लागत धेरै हुने गरेको उनले बताए ।
एसेम्बली उद्योगलाई दिइएको छुटमा पनि प्रश्न उठ्ने गरेको उनले गुनासो गरे । ‘एसेम्बलीमा दिएको छुटले कति भ्यालु एडिसन गर्यो ? उपोक्ताले के पाए ? राज्यले के पायो भन्ने प्रश्न उठ्ने गरेको छ,’ उनले भने, ‘एसेम्बलीले रोजगारी सिर्जना गरेको छ । उत्पादनमा पनि मूल्य समायोजन गरिएको छ । यसको लाभ अल्पकालीन नभई दीर्घकालीन रुपमा हेनुपर्छ ।’
एसेम्बली प्लाण्टलाई सहयोग गर्दा राजस्व पनि नघट्ने उनले बताए । ‘सरकारले एसेम्बलीलाई सपोर्ट गरेको छ । अन्तःशुल्कमा ५० प्रतिशत छुट दिएको छ । भन्सार छुट छैन,’ उनले भने, ‘सहयोग गरे पनि राजस्व घटेको छैन । किनकी भन्सारका दरहरु बढेका छन् । अन्तःशुल्क र भन्सारको दर दोब्बर भएको छ ।’
नेपालमा अटो क्षेत्रमा दक्ष जनशक्ति पनि उत्पादन भइरहेको बताए । ‘जनशक्ति उत्पादनका लागि कोरिया लगायत देशहरुले सहकार्यका जनशक्ति उत्पादनका लागि इन्स्च्यिुट स्थापना गरी पढाइ रहेका छन् । अहिले नेपालका अधिकांश उद्योगमा नेपालीले नै काम गरिरहेको बताए । अटो उद्योगमा पनि अधिकांश जनशक्ति नेपाली नै छन् ।’ड्युटी प्रोटेक्सन नभए अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उनकाे भनाइ छ ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालमा उत्पादिन वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए । उनले कार्पेट, गलैँचा, चिया, छुर्पी लगायत वस्तुले राम्रो बजार पाइरहको भन्दै सवारी निर्यातको पनि सम्भावना हुने बताए । यद्यपि, छिमेकी देशहरु उदार नभएमा नेपालमा उत्पादित सवारी तेस्रो देशमा बिक्रीमा समस्या हुने उनको भनाइ छ ।
नेपालमै सवारी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले नेपालमै उत्पादनका भएका सवारी साधन खरिद गर्ने नीति अबलम्बन गर्नुपर्नेमा उनले जोड दिए । यद्यपि, नेपालमा उत्पादित सवारीको गुणस्तर भने हुनुपर्ने उनले बताए ।
नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले नेपालमा सवारीको उत्पादनको सम्भावना रहे पनि त्यसको बजार बारे अध्ययन गर्नुपर्ने बताए । विगतमा टाटा मोटर्सले नेपालमा प्लाण्ट राख्न चाहे पनि बजार सानो भएको र उत्पादन लागत बढी देखेकाले नेपालमा लगानी गर्न नसकेको बताए ।
नेपाल भारत र चीन जस्ता ठूला देशको बीचमा रहेकाले प्रतिस्पर्धा गर्न लागत र गुणस्तरमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।