फोहोरबाट ६ लाख ५० हजार लिटर पेट्रोल बचाउँदै धरान, काठमाडौंमा चरम राजनीति

काठमाडौं । धरान उपमहानगरपालीकाले वार्षिक ६ लाख ५० हजार लिटर पेट्रोल बचत गर्न सक्ने भएको छ । उपमहानगरले फोहोरबाट उत्पादन गरेको वायोग्यासको प्रयोगबाट सहरमा टेम्पो चलाउन थालेसँगै वार्षिक ६ लाख ५० हजार लिटर पेट्रोल बचत हुने अवस्था आएको हो ।

‘अहिले दैनिक हामीले दैनिक ३०० किलोग्राम हाराहारी बायोग्यास उत्पादन गरिरहेका छौं । यो प्लान्ट पूर्ण क्षमतामा संचालन हुने हो भने १२०० किलोसम्म दैनिक ग्यास उत्पादन हुन्छ’, भेन्चर वेस्ट टु इनर्जी कम्पनीका चेयरम्यान जिनेश श्रेष्ठले मेरोअटोसँग भने ।

काठमाडौंमा दैनिक ६०० टन फोहोर उत्पादन हुन्छ । तर, यसको उचित व्यवस्थापन हुन नसकेर काठमाडौंका सडक दुर्गन्धित भइरहेका छन् । कम्पनीका अनुसार धरानमा अहिले दैनिक ट्रिपर र ट्याक्टरमा गरेर १० देखि १२ गाडी फोहोर आइरहेको छ । त्यसमा अर्ग्यानिक कम्पोनेन्टको मात्रा ५० प्रतिशत मात्रै छ । कोभिडपछि अर्ग्यानिक कम्पोनेन्टको मात्रा घटेको छ । त्यसैले प्लान्टबाट दैनिक २०० केजी मल र ३ देखि ४ हजार लिटर लिक्वीड मल उत्पादन भइरहेको छ । यसरी बन्ने मल स्थानीय किसानलाई विक्री हुँदै आएको छ ।

यहाँ घरघरबाट उठाइएको फोहोर छान्ने युनिट पनि बनाइएको छ । जहाँ प्लास्टिक, बोटल, मेटल, सिसा, पेपर सबैलाई छुट्टाउने गरिन्छ । त्यहाँ रिसाइकल हुने, सिसाको बोटल, प्लास्टिक सबै छुट्यााएर कवाडीमा बेचिन्छ ।

यसरी छुट्टाइएको फोहोरमा २० देखि २५ प्रतिशत फोहोर रिसाइकल पनि नहुने किसिमका हुन्छन् । त्यसलाई मेसिनमा राखेर कम्पनीले नष्ट गर्दै आएको छ ।

भेन्चर वेस्ट टु इनर्जी कम्पनीले धरानको सफल संचालनसँगै विराटनगरमा पनि फोहोर व्यवस्थापनको काम गर्न लागेको अध्यक्ष श्रेष्ठले बताए । ‘विराटनगरमा काम गर्ने भनेर पहिलेको मेयरसँग धेरै काम अगाडि बढेको थियो । अहिले नयाँ मेयर आउनुभएको छ । उहाँसँग कुरा गर्दैछौं । चितवनसहित काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न हामी सक्षम छौं । त्यसैले सहरी विकास मन्त्रीदेखि काठमाडौं उपत्यकाका मेयरहरूसँग बसेर कुरा अगाडि बढाएका छौं’, अध्यक्ष श्रेष्ठले भने ।

अहिले धरानमा बायोग्यासबाट ३०० वटा टेम्पो चलाउने योजना कम्पनीले बनाएको छ । साथै, विस्तारै सवारीसाधन बायोग्यासबाट चल्ने बनाउने र वार्षिक ६ लाख ५० हजार लिटर पेट्रोलको सट्टा बायोग्यास प्रयोग गर्ने कम्पनीको योजना छ ।

टेम्पोमा ५ केजी ग्यास अट्ने सिलिण्डर राखिएको छ । यसलाई एक मिनेटमा रिफिल गर्न सकिन्छ । ग्यासको मूल्य प्रतिकेजी ११५ रुपैयाँ रहेको छ । १ केजी ग्यासले ३५ किलोमिटर माइलेज दिन्छ ।


Back_to_top