इन्धन उत्पादनमा धरानको फड्को, सीएनजी गाडी आउने बाटो खुल्दै

काठमाडौं । धरान उपमहानगरपालिकामा संचालनमा आएको सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) प्लान्टले नेपालमा सीएनजी ग्यासबाट चल्ने गाडी आयातको ढोका खुला गरेको छ ।

लगानी बोर्डले मध्यस्थता गर्दै सुरू भएको ‘भेन्चर वेस्ट टू इनर्जी’ कम्पनीले आफ्नो प्लान्ट संचालनमा ल्याएसँगै सीएनजी ग्यासको विक्री सुरू भएको हो ।

दैनिक ५० टन फोहर व्यवस्थापन गर्न सक्ने क्षमता रहेको यो प्लान्टबाट ग्यासको साथै मल पनि उत्पादन सुरू भएको छ । कम्पनीले यहाँ उत्पादन गरेको सीएनजी ग्यास तीनपाङ्ग्रे टेम्पोमा विक्री सुरू गरेको हो ।

अहिले धरानमा संचालनमा रहेका टेम्पोमा सीएनजी र पेट्रोल दुवै प्रयोग गर्न मिल्नेगरी बनाइएको छ । पेट्रोलको तुलनामा सीएनजी निकै सस्तो पर्ने भएकाले टेम्पो चालकहरूको रोजाइमा सीएनजी पर्न थालेको छ ।

भेञ्चर वेस्ट टू इनर्जी प्रालिले ११५ रुपैयाँ प्रति केजीमा सीएनजी ग्यास विक्री गर्दै आएको छ । यो फोहोर प्रशोधन केन्द्र करिब २४ करोड रुपैयाँको लागतमा तयार भएको हो । धरानको पानवारीमा रहेको यो प्लान्ट करिब १६ कठ्ठा जमिनमा फैलिएको छ । यो प्लान्ट पूर्ण क्षमतामा संचालन हुँदा यसले दैनिक १ हजार २०० केजी बायोग्यास र ४०० केजी मल उत्पादन गर्न सक्छ ।

सीएनजी कारको सम्भावना बढ्ने

यहाँ उत्पादन भएको बायोग्यास निकै व्यवस्थित तरिकाले विक्री सुरू भएको छ । यहाँ उत्पादन भएको ग्यास पूर्वका ठूला सहर धरान, इटहरी, दमक, विराटनगर र विर्तामोडको लागि नै ठिक्क हुने अवस्था आउने कम्पनीले विश्वास लिएको छ ।

अहिले टेम्पोहरूले प्रयोग गर्दै आएको ग्यास सीएनजीबाट चल्ने कार आउन थालेसँगै यसको प्रयोग थप बढ्ने देखिन्छ । अहिले ग्यासको अभावमा सीएनजी कार नेपाल आएको थिए ।

वातावरणमैत्री सीएनजी कारहरू चाँडै नेपाल आउने र काठमाडौं तथा पोखरा जस्ता ठूला सहरले फोहोर व्यवस्थापन गर्दा ग्यास र मल निकाल्ने हो भने ठूलो परिमाणमा पेट्रोलियम पदार्थको आयात रोक्न सकिने देखिएको छ ।

 


Back_to_top