टाइगुन किन्नेलाई ०.९९% ब्याजदरमा कर्जा, यस्तो छ मासिक किस्ता

काठमाडौं । फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ स्कीम पूर्णत फाइनान्स सुविधामा केन्द्रित रहेको छ ।

कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी किन्ने ग्राहकलाई ०.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको छ । यो स्कीममा गाडी किन्ने ग्राहकले निकै उत्कृष्ट फाइनान्स स्कीम पाउने कम्पनीको दावी छ ।

‘हामीले बजारमा रहेको तरलता अभावका बीच ग्राहकलाई सस्तोमा कर्जा उपलब्ध गराउने स्कीम ल्याएका छौं । अहिले बजारको औषतको तुलनामा निकै सस्तो ब्याजदरमा कर्जा ल्याएको कारण धेरै मानिसको गाडीको आवश्यकता पुरा हुने अपेक्षा गरेको छौं’, पुजा इन्टरनेशनल नेपालका एसिस्टेन्ट जनरल मेनेजर विवेक बलामीले मेरोअटोसँग भने ।

दशैंको मुखमा आएको यो कर्जा स्कीममा ब्याजदर परिवर्तन नहुने भएको कारण गाडी किन्ने मानिसलाई बढ्दो ब्याजदरको चिन्ता पनि नहुने बलामीले बताए ।

यस्तो छ ब्याजदर

कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी टाइगुनमा तीन फरक ब्याजदर स्कीम दिएको छ । यी तीन वटैको ब्याजदर अहिलेको बैंकिङ क्षेत्रको औषतभन्दा निकै कम हो । अहिले बजारमा वाणिज्य बैंकहरुको औषत अटो लोनको ब्याजदर १५ प्रतिशत हाराहारी छ ।

तर, कम्पनीले सबैभन्दा धेरै ९.९९ प्रतिशत ब्याजदर लाग्नेगरी स्कीम ल्याएको छ । यदि कसैले ६ वर्षको लागि कर्जा लिन चाहेको खण्डमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर लाग्ने छ । साथै, ५ वर्षको लागि कर्जा लिने मानिसले ७.९९ र ३ वर्षको लागि मात्रै कर्जा सुविधा लिने ग्राहकले ०.९९ प्रतिशत ब्याजदर तिर्दा पुग्छ ।

पुजा इन्टरनेशनल नेपालले पोलो र भेन्टो लगायतका गाडीमा भने ६ वर्षको मात्रै फाइनान्स सुविधा दिएको छ । यसमा ग्राहकले ९.९९ प्रतिशत ब्याजदर तिर्नु पर्छ । यी सबै ब्याजदर अपरिवर्तनिय हुन् ।

कति पर्छ टाइगुनको मासिक किस्ता ?

कम्पनीले ल्याएको फरक स्कीम अनुसार टाइगुको मासिक किस्ता कति पर्छ भन्ने विषय धेरैको चासो हुनु स्वभाविक हो । फक्सवागेन टाइगुनको सुरुवाती मूल्य ५५ लाख ९० हजारदेखि टप भेरियन्टको ७९ लाख ५० हजार रुपैयाँसम्म छ । अहिले ७१ लाख ५० हजार मूल्यको हाइलाइन अटोमेटीक भेरियन्टको केही यूनिट स्टक रहेको कम्पनीको भनाई छ ।

गाडी किन्ने मानिसले मूल्यको ५० प्रतिशत सुरुमै डाउन पेमेन्ट बुझाउनु पर्छ । यस हिसावले हामीले यहाँ हाइलाइन अटोमेटीकको मासिक किस्ता हिसाव गरेका छौं । सबैभन्दा पहिला ९.९९ प्रतिशत व्याजदरमा कति मासिक किस्ता पर्न आउँछ भन्ने हेरौ । पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । यसमा ग्राहकले ६६ हजार २१२ रुपैयाँ मासिक किस्ता बुझाउनु पर्छ ।

त्यसैगरी ५ वर्षमा कर्जा भुक्तानी गर्नेगरी यही भेरियन्ट किन्ने ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा कर्जा पाउने छन् । कर्जा र मासिक किस्ताको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । यो स्कीममा गाडी किन्ने मानिसले गाडीको मूल्यको ५० प्रतिशतले हुन आउने ३५ लाख ७५ हजार डाउन पेमेन्ट र त्यतिनै रकम कर्जा लिन सक्ने छन् । यो स्कीममा ग्राहकले मासिक ७२ हजार ४७१ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

सबैभन्दा थोरै ब्याजदरमा गाडी किन्ने ग्राहकले ३ वर्षमा कर्जा भुक्तानी गर्नु पर्ने हुन्छ । यसमा पनि डाउन पेमेन्ट र कर्जा रकम समान ३५ लाख ७५ हजार रुपैयाँ हुन्छ । तीन वर्षमा तिर्नु पर्ने सम्पूर्ण हिसावको विवरण हेर्न यहाँ क्लिक गर्नुहोला । यो स्कीममा गाडी किन्ने ग्राहकले मासिक १ लाख ८२९ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।


Back_to_top