दुई दशकभन्दा बढी समय नेपालको अटोमोवाइल क्षेत्रमा विताइसकेका सुनिलबहादुर क्षेत्री अहिले पारामाउन्ट मोटर्सको जनरल मेनेजर छन् । झण्डै एक वर्ष अगाडि पारामाउन्ट मोटर्ससँग जोडिएका क्षेत्रीको नेतृत्वमा एमजी एस-५ अहिले बजारमा बिक्री सुरु भएको छ । सरकारको नीतिको मार सधैँ अटोमोवाइलमा परिरहेको बताउँने क्षेत्रीसँग मेरोअटोले गरेको कुराकानीको सम्पादित अंशः
लामो सयमदेखि अटोमोबाइल क्षेत्रमा हुनुहुन्छ । धेरै समय पेट्रोलियम गाडी बिक्री गर्नुभयो । एक वर्षदेखि ईभी बेच्दै हुनुहुन्छ । कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
एकदमै रमाइलो लागि रहेको छ । पेट्रोलमा लामो समयदेखि थिए । ईभी विश्वकै लागि नयाँ कुरा हो । यही क्षेत्रमा काम गर्ने भएपछि रिसर्च त गरेर बसिएकै थियो । मैले सन् २००१ बाट अटोमोबाइल क्षेत्रमा काम सुरू गरेको हो । झण्डै २४ वर्ष भयो । गाडी चढ्न थालेको पनि १८ वर्ष भयो । १७ वर्ष पेट्रोल कार चलाए । अहिले ईभी चलाइ रहेको छु ।
लामो सयम पेट्रोल कार चलाएको मानिस एकै पटक ईभीमा आउँदा कस्तो फरक पाउनुभयो ?
ड्राइभिङमा धेरै फरक छ । ईभी चलाउन निकै सहज छ । फिचर पनि धेरै पाउन सकिन्छ । घरमै विद्युतबाट चार्ज गर्न सकिन्छ । मेन्टिनेन्सको अवधि पनि सहज र खर्च पनि कम लाग्ने हुँदा म आफैँ रमाइलो गरिरहेको छु ।
भनेपछि ईभी चलाउँदा तपाईं अल्छी हुनुभयो ?
लामो हाँसो हाँस्दै…. लग्जरी भनेकै अल्छीको लागि हो । धेरै लग्जरी भएपछि धेरै अल्छी हुने नै भयो ।
पारामाउन्ट मोटर्समा १ वर्ष बिताउनुभयो । यहाँ बसेर हेर्दा व्यवसायी र उपभोक्ताको साइटबाट ईभीलाई हेर्दा के भन्नु हुन्छ ?
व्यवसायीको पाटोबाट हेर्दा सरकारी अस्थिर नीतिले समस्या पारेको छ । यदि, स्थिर नीति हुने हो भने लगानी बढाउने आँट आउँथ्यो । करदेखि फाइनान्स सुविधा पनि सरकारको नीति अस्थिर छ । यसले व्यवसायीलाई ठूलो चुनौती थपेको छ । उपभोक्ताको साइटबाट हेर्दा उहाँहरू खुसी हुनुहुन्छ । अहिले पनि ईभी कम रकममा उत्कृष्ट गाडी चढ्न पाउनुभएको छ ।
उहाँहरूले सर्भिस, पार्टस् र चार्जिङ पूर्वाधारको कमी हुन्छ कि भन्ने चिन्ता लिएको पाइन्छ । अहिले यी तीनवटै कुरामा कम्पनीहरूले राम्रोसँग काम गरिरहेका छन् । त्यसैले उपभोक्ता खुसी हुनु नपर्ने कुरै त्यति धेरै छैन ।
पार्टसको मूल्य अहिले निकै चर्चामा छ । साँचो कुरा चाहिँ के हो ?
यहाँ हामीले ईभीमा लाग्ने पार्टसको विषयमा कुरा गर्दा टेक्निकल कुरा पनि ध्यान दिनु पर्छ । सेन्सरको व्यापक प्रयोग भएको खण्डमा पार्टस महँगो छ । उपभोक्ताको साइटबाट यो विषय उठ्नुलाई राम्रो मान्नु पर्छ । बिक्रेताले पनि स्पेयर पार्टसको मूल्य कम बनाउन दबाब हुन्छ । हामीले त सुरू नै गर्दैछौं । हप्ता १० दिनमै पार्टसको मूल्य सक्दो कम गर्ने योजना हाम्रो छ । त्यसको लागि उत्पादक कम्पनीसँग हामीले नेगोसेट गरिरहेका छौं ।
तपाईंहरूले कम मार्जिनमै गाडी बेचिरहनु भएको छ भन्ने कुरा बजारमा चर्चा हुन्छ । त्यसैलाई आधार बनाएर एमजीले सर्भिस दिन सक्दैन । किनभने उसले सर्भिसमा लगानी गर्न पुग्ने पैसा गाडी बेचेर बनाउँदैन भन्ने पनि छन् । यसमा तपाईंको अनुभव के भन्छ ?
हामीले राम्रो प्राइसमा गाडी बेचेको हो । सस्तो बेचेको होइन । हामी संख्यात्मक रूपमा धेरै गाडी बेच्न चाहन्छौं । गाडीको भोल्युममा बिक्री भएपछि कमाइ त हुन्छ नै । पहिला एमजीले छोटो समयमा धेरै गाडी बेच्यौं । सर्भिस सेन्टर तीव्र गतिमा बनाउन भ्याएनौं । अहिले समय फेरियो । हामीसँग उपत्यकामा नै तीनबाट सर्भिस सेन्टर छ । उपत्यका बाहिर पनि बलियो छ । सर्भिस म्यानपावर बढाएका छौं । उनीहरूको ट्रेनिङ पनि व्यापक रूपमा भएको छ । आजको दिनमा तत्कालै गएर सर्भिस सुविधा पाउने अवस्था छ ।
एमजीले भारत र चीनमा उत्पादन गरेका ईभी ल्याउनुभएको छ । भोलिका दिनमा कताको उत्पादनमा मुख्य ध्यान हुन्छ ?
हामी कहाँ बन्छ भन्ने होइन, कुन नेपालको लागि उपयुक्त मोडल छ भन्ने कुरामा विश्वास गर्छौ । जहाँ बने पनि हाम्रो देशको बाटो सुहाउँदो र उपभोक्ताको ट्रेन्ड अनुसारको मोडल नेपाल ल्याउँछौं । भारत र चीनमा जहाँ बने पनि हामी गाडी ल्याउँछौं । अबको तीन सातापछि हामी भारतमा उत्पादन भएको विन्डसर ईभी नेपालमा बिक्री थाल्दैछ ।
अन्य नयाँ मोडलको योजना पनि यो वर्षलाई छ ?
सन् २०२५ मा हामी एस-६ मोडल ल्याउने छौं । सम्भवतः २०२५ को अन्तिम क्वाटरमा नेपाल आउने छ ।
केही समय अगाडि बिक्री सुरू भएको एस-५ मा उपभोक्ता के भन्छन् ?
अहिलेसम्म आएर गाडी हेर्ने अधिकांश मानिस खुसी हुनुहुन्छ । मूल्य अनुसारको गाडी सबैले भन्नु भएको छ । हामीले मूल्यसँगै यसको कन्भिनियन्सलाई पनि बुझाउने कोशिस गरेका छौं । टेक्निकल फिचरका विषयमा पनि उहाँ निकै खुसी भएको पाइन्छ । भर्खरै डेलिभरी सुरू गरेका छौं । सडकमा बढ्दै जाँदा थप ग्राहक तान्ने अपेक्षा गरेका छौं । एस-५ को मद्दतबाट हामी निकै राम्रो गर्छौ ।
प्रोडक्ट मात्रै राम्रो भएर पनि बजार पाइँदो रहेनछ, धेरै वर्षदेखि बजारमा रहेको प्रोडक्ट नबिक्ने भन्ने पनि होइन रहेछ । यो कुरा जेडएस ईभीले ६ वर्ष राम्रो बिक्री गरेर पुष्टि गरेको छ । बजारमा प्रोडक्ट चल्न के चाहिँदो रहेछ ?
बजारमा कुनै पनि ब्राण्डलाई बलियो बनाउने सर्भिस, सेल्स र आवश्यक सबै सेवा सुलभ मूल्यमा दिन सक्नुपर्छ । हामी सुरूदेखि नै यो कुरामा प्रष्ट थियौं । त्यसका बाबजुद कहिले काहिँ समस्या आउनु स्वभाविक हो । हामीले अहिले सर्भिस बलियो बनायौं । सर्भिसमा उपभोक्तालाई जोड्न थप काम गर्दैछौं । सुरूमा नै डीसी चार्जर बनायौं । अहिले धेरै पक्षले चार्जर बनाए । कुनै पनि ब्राण्डले आफ्नो उत्पादनलाई बलियो बनाउन बिक्रीपछि दिने सबै किसिमका सेवा नै मुख्य हो ।