काठमाडौं । चांगान, सीएटीएल र हुवावेको संयुक्त लगानीको अबतार ब्राण्डले नयाँ मोडलको मूल्य घोषणा गरेको छ । अबतार-०६ नामबाट आएको प्रिमियम सेडान कारको सुरुवाती मूल्य २६ हजार ३०० अमेरिकी डलर तोकिएको हो ।
चीनमा २ लाख युवान सेग्मेन्टमा ल्याइएको अबतार-०६ ले सिधै टेस्ला मोडल-३ सँग प्रतिस्पर्धा गर्नेछ । कम्पनीले प्रिमियम सेडानलाई इलेक्ट्रीक र इआरइभी गरी दुई फरक पावरट्रेनमा ल्याएको हो ।
यसको प्योर इलेक्ट्रीक मोडलमा ७२.८८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । यसको रियर ह्वील ड्राइभ भर्सनमा २५२ किलोवाटको मोटर छ । यस भेरियन्टले ६५० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
त्यसैगरी यसको अलह्वील ड्राइभ भर्सनमा ४४० किलोवाटको मोटर छ । यसले ६०० किलोमिटर रेन्ज दिने सीएलटीसीको दावी छ । अबतार–०६ लाई कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो ।
यसको रेन्ज एक्सटेन्टर भेरियन्टमा ११५ किलोवाट पावर प्रदान गर्ने १.५ लिटर टर्बोचार्ज्ड इन्जिन छ । साथमा ३१.७ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । ११६ किलोवाटको इलेक्ट्रीक मोटर पनि छ । समग्रमा यसको पीकपवार २३१ किलोवाट रहनेछ । ब्याट्री रेन्ज भने १७० किलोमिटर हुनेछ ।
अबतारको २.० डिजाइन ल्याङ्गेवजमा तयार भएको कारको क्याविन पुरै सफ्टटच मेटेरियलबाट बनेको छ । २५ स्पीकर भएको कारको साउन्ड सिस्टम उत्कृष्ट रहेको कम्पनीको दावी छ । अगाडिको सिट जिरो ग्राविटीमा आधारित छ भने १६ स्थानमा मसाज गर्न सक्षम छ ।
हुवावेले बनाएको ३.० एडास फिचरको साथ आउने अबतार-०६ लग्जरी र हाइटेकको मिश्रण हो ।