काठमाडौं । नियोको फायरफ्लाई ब्राण्डमा आएको ह्याचव्याक कारको मूल्य १६ हजार ७७० अमेरिकी डलरबाट सुरु भएको छ । हिजो चीनमा सार्वजनिक भएको फायरफ्लाईको मूल्य यसअघि २० हजार २०० अमेरिकी डलर हुने बताइएको थियो ।
अनुमानभन्दा ३ हजार ५ सय अमेरिकी डलर कम मूल्यमा सार्वजनिक भएको प्रिमियम ह्याचव्याक कार नेपाल पनि आउने छ । टप भेरियन्टको मूल्य भने १७ हजार ६०० अमेरिकी डलर तोकिएको छ । नेपालको लागि यसको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले लिइसकेको छ ।
निकै प्रिमियम फिचरको साथ बजारमा आएको फायरफ्लाईले अन्तर्राष्ट्रिय बजारमा मिनी कुपरसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । चिनियाँ बजारमा फायरफ्लाईको यही अप्रिल २९ तारिखबाट ग्राहकलाई डेलिभरी सुरु हुनेछ ।
नियो फायरफ्लाईको ड्यासबोर्डमा १३.२ इन्चको स्कृन दिइएको छ । त्यसका साथै क्याविनमा ६ इन्चको इन्फर्मेसन डिस्प्ले, १४ स्पीकर सहितको ७.१ डल्बी साउन्ड सिस्टम, २५६ कलरमा मिलाउन सकिने एम्बीयन्ट लाइट छन् ।
सुरक्षाको लागि १५ एक्टीभ सेफ्टी फिचर रहेको कारको हाइस्पीड ड्राइभिङ एसिस्टेन्स सिस्टमको कभर रेट ९९.९९ प्रतिशत रहेको कम्पनीको दावी छ । यसको ड्राइभिङ एसिस्टले लेन चेन्ज, ओभरटेक र पार्किङ आफैँ गर्न सक्छ ।
युरोपियन बजारमा बिक्री गर्ने लक्ष्यका साथ उत्पादन भएको फायरफ्लाईमा १०५ किलोवाट क्षमताको मोटर छ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८.२ सेकेन्ड लगाउने छ । टप स्पीड क्षमता भने १५० किलोमिटर प्रतिघन्टा मात्रै छ ।
यसमा ४२.१ किलोवाट आवरको ब्याट्री रहेको छ । सिएलटीसीका अनुसार यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ ।