काठमाडौं । सन् २०२५ को जनवरी १ देखि अप्रिल १५ सम्मको आयात ट्रेन्ड हेर्दा एकपटक फेरि ईभी बजारमा उथलपुथल हुने देखिन्छ ।
सन् २०२५ को अप्रिल १५ सम्ममा २ हजार ३६५ युनिट विद्युतीय कार नेपाल आएका छन् । करिब ४ दर्जन जति विद्युतीय कार मोडल बजारमा उपलब्ध छन् । त्यसमध्ये धेरै आयात भएका १० कारको विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
करिब १०५ दिनको आयातको आधारमा टाटाका तीन मोडल धेरै आयात भएका कारको सूचीमा अटाएका छन् । अर्को धेरै मोडल रहेको बीवाइडीको दुई मोडल धेरै आयात हुने १० मोडल भित्र पर्न सफल भएको छन् ।
यी दुई ब्राण्ड बाहेक डोङफेङ नामी, एमजी एस-५, दीपल एस-०७, हुन्डाई क्रेटा र जेको जे-६ टप १० धेरै आयात भएका मोडलमा अटाएका छन् ।
टाटाको टिगोर सबैभन्दा धेरै आयात भएको छ । अप्रिल १५ तारिखसम्म ३३० युनिट टियागो ईभी आयातसँगै पहिलो स्थानमा रहेको छ । दोस्रो धेरै आयात भएको मोडल डोङफेङ नामी हो । समीक्षा अवधिमा २४८ युनिट नामी ह्याचब्याक आयात भएको देखिन्छ ।
बीवाइडी डल्फिन धेरै आयात हुने कारको सूचीमा तेस्रो स्थानमा छ । यस अवधिका २३५ युनिट डल्फिन ईभी नेपाल आएको हो ।
चौथो स्थानमा टाटा पन्च ईभी परेको छ । माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध पन्च १७३ युनिट आयात भएको तथ्यांकमा देखिन्छ ।
पाँचौं स्थानमा बीवाइडीको सदावहार मोडल एटो-३ रहेको छ । अघिल्लो वर्षको तुलनामा निकै आयात घटेको एटो-३ नयाँ वर्ष लागेसँगै अहिलेसम्म १७१ युनिट आयात भएको छ ।
छैटौं स्थानमा पनि टाटाकै अर्को मोडल टियागो छ । टाटा टियागो १३६ युनिट आयात भएको छ । सूचीको सातौं स्थानमा एमजी एस-५ छ । कम्पनीले एक महिना अगाडि ल्याउन थालेको एस-५ अहिलेसम्म १११ युनिट आयात भएको देखिन्छ ।
अघिल्लो वर्षको अर्को हिट मोडल दीपल एस-०७ पनि निकै स्लो भएको छ । यो साढे तीन महिनाको अवधिमा केबल ७२ युनिट मात्रै एस-०७ आयात भएको देखिन्छ ।
सूचीको नवौं स्थानमा अघिल्लो महिना बिक्री सुरू भएको हुन्डाई क्रेटा परेको छ । कम्पनीले यस अवधिमा ६६ युनिट क्रेटा नेपाल ल्याएको देखिन्छ ।
सूचीको १० औं स्थानमा जेको जे-६ परेको छ । समीक्षा अवधिमा ५९ युनिट आयात भएको देखिन्छ ।