काठमाडौं । १ हजार रुपैयाँ चोर्दा कति जरिवाना तिर्नुपर्ला ? सामान्यतः चोरे बराबरको रकम र त्यसको बिगो समेत गरी दोब्बरसम्म । तर, जापानमा एउटा यस्तो घटना घटेको छ, जहाँ हजार चोर्दा करोड जरिवाना तिर्नुपरेको छ ।
जापानमा २९ वर्षदेखि बस चलाउँदै आएका ५८ वर्षीय एक चालकले यात्रुको १ हजार जापानी येन अर्थात् ९५९ नेपाली रुपैयाँ चोरी गर्दा १ करोड २० लाख येन गुमाएका छन् ।
सन् १९९३ देखि क्योटो सिटीमा बस चलाउँदै आएका ती चालककले आफूले पेन्सन बापत पाउनुपर्ने १ करोड २० लाख येन गुमाएका हुन् ।
ती चालकले यात्रुको सन् २०२२ को फेब्रुअरीमा १ हजार येन चोरी गरेको बसको सीसी क्यामरामा कैद भएको थियो ।
उनले यात्रुबाट लिएको १ हजार बिल भाडा प्रशोधन मेसिनमा जम्मा गर्नुपर्ने आफ्नो खल्तीमा हालेपछि क्योटो नगरपालिका यातायात ब्यूरोले २०२२ मार्च मा उनलाई जागिरबाट बर्खास्त गरेको थियो ।
त्यसपछि उनले आफ्नो अवकाश रकम (पेन्सन) लिन आफू कार्यरत नगर कार्यालयमा निवेदन दिएका थिए । कार्यालयले उनले पाउनु पर्ने रकम दिन अस्वीकार गरेपछि उनी अदालत पुगे । स्थानीय अदालतले उनको पक्षमा फैसला पनि गरेको थियो ।
तर, उक्त फैसलाविरुद्ध नगर कार्यालय सर्वोच्च अदालत गएको थियो । जसमा सर्वोच्चले स्थानीय अदालतको फैसला उल्ट्याउँदै बस कार्यालयको पक्षमा आदेश दियो । सोही अनुसार उनले अवकाश बापत पाउनुपर्ने कुल १ करोड २० लाख येन गुमाउनु परेको हो ।