काठमाडौं । सन् २०२५ लागेसँगै टाटाले ईभी आयातमा रफ्तार बढाएको छ । सिप्रदी ट्रेडिङले २०२५ को जनवरी १ तारिखदेखि अप्रिल १५ तारिखसम्ममा ७३५ युनिट विद्युतीय साधन ल्याएर दोस्रो स्थानको बीवाइडी भन्दा निकै अगाडि पुगेको हो ।
सन् २०२४ को पुरै एक वर्षमा ३ हजार ५३० युनिट बीवाइडीले ल्याउँदा टाटाले २ हजार ६१२ युनिट नेपाल ल्याएको थियो । तर, सन् २०२५ लागेसँगै बीवाइडीलाई राम्रो संख्यामा टाटाले उछिनेको हो ।
यस वर्षको १०५ दिनमा बीवाइडीले ४५७ युनिट विद्युतीय कार नेपाल ल्याएको भन्सार तथ्यांकमा देखिन्छ । टाटाको आयातमा सबैभन्दा धेरै ३३० युनिट टिगोर ईभी छ । जुन ट्याक्सीको रुपमा बिक्री वितरण हुँदै आएको छ । यदि, पुरै ट्याक्सीको लागि आएको टिगोर हटाउने हो भने अन्य मोडल ४०२ युनिट आयात भएको देखिन्छ ।
टाटाले अन्य मोडलमा पन्च ईभी १७३ युनिट, टियागो ईभी १३६ युनिट, नेक्सन के-३ मोडल ५२ युनिट र कर्भ ईभी ४४ युनिट आयात गरेको देखिन्छ ।
बीवाइडीको हकमा भने डल्फीन सबैभन्दा धेरै आयात भएको छ । डल्फीनको आयात २३५ युनिट, एटो-३ को आयात १७१ युनिट र एम-६ को आयात ५१ युनिट भएको देखिन्छ ।