काठमाडौं । संघीय राजधानी काठमाडौं आउने सबै मुख्य सडक अहिले लथालिंग, भताभुंग अवस्थामा छन् । काठमाडौंलाई देशभर जोड्ने पृथ्वी राजमार्ग, सूर्यविनायक-धुलिखेल सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ, पासाङ ल्हामु राजमार्ग, थानकोट-चित्लाङ सडक स्तरोन्नतिको क्रममा छन् ।
हाल यी सडकमा जताततै खाल्डाखुल्डी छन् भने घाम लाग्दा धूलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छन् । सडक सडक जस्ता नभएर सास्तीमार्ग बनेका छन् । यात्रु ती सडक हुँदै यात्रा गर्न होइन, सास्ती, हैरानी र दुःख खेप्न विवश छन् ।
नेपालमा अपवाद बाहेक कुनै पनि पूर्वाधार आयोजना समयमै सम्पन्न भएका छैनन्/गरिँदैन । यी सडकले पनि सोही थितिलाई निरन्तरता दिइरहेका छन् । सडकको ठेक्का म्याद घर्किँदै जाँदा प्रगति भने निकै सुस्त छ ।
आगामी वर्षायाममा यी सडकमा यात्रा गर्नेले सास्ती भोग्नुपर्ने निश्चित छ । वर्षा लाग्न करिब २ महिना मात्रै बाँकी छ । तर, हालसम्मको प्रगति हेर्दा कुनै पनि सडक वर्षायाम अघि नै सम्पन्न हुने देखिँदैन । सरकार र ठेकेदार कम्पनीले काममा तीव्रता दिएको बताए पनि सम्पन्न हुने चरणमा पुगेका छैनन् ।
ठेकेदारको ढिलासुस्ती, रुख कटान, बिजुलीका पोल सार्न ढिलाइ, स्थानीयको अवरोध लगायत कारणले यी सडकको कामले अपेक्षित गति लिन नसकेको हो ।
यद्यपि, वर्षायाममा पनि सहज रूपमा सवारी साधन संचालनको व्यवस्था मिलाउन सम्बन्धित ठेकेदारहरूलाई निर्देशन दिइएको सडक विभागले जनाएको छ ।
नागढुंगा-मुग्लिन सडकको छैन सन्तोषजनक प्रगति
काठमाडौं भित्रिने ‘लाइफलाइन’ नागढुंगा-मुग्लिन सडकको काम सुस्त छ । ९५ किलोमिटर लामो नागढुंगा-मुग्लिन सडक ३ खण्डमा ठेक्का लगाई विस्तारको क्रममा छ । यो आयोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण भइरहेको हो ।

नागढुंगा-मुग्लिन सकड योजना (पूवीखण्ड)का सूचना अधिकारी इन्जिनीयर माधव पौडलले हाल तीनै खण्डमा काम भइरहेको बताए । पहिलो खण्डको काम अन्तिम चरणमा पुगे पनि बाँकी दुई खण्डको आधा पनि नभएको उनले बताए ।
उनका नागढुंगा-नौबिसे (पहिलोखण्ड) १२.२६ किलोमिटरको काम अन्तिम चरणको पुगेको छ । यस खण्डको भौतिक प्रगति ७१ प्रतिशत पुगेको छ ।
‘नागढुंगा-नौबिसे खण्डको काम अन्तिम चरणमा पुगेको छ । १२.२६ किलोमिटरमध्ये ७.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी पनि असार अघि नै कालोपत्र गरिसक्ने लक्ष्य छ,’ उनले भने, ‘दोस्रो र तेस्रो खण्डको भने भौतिक प्रगति कम छ । ठेकेदारलाई गति बढाउन भनेका छौं ।’
पहिलो खण्डको ठेक्का १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा एमएस जियाङसु-सगुन जेभीले पाएको छ ।
त्यस्तै, ४३.५४ किलोमिटर लामो नौबिसे-मलेखु (दोस्रो खण्ड)को भौतिक ३४ प्रगति पुगेको सूचना अधिकारी पौडेलले जानकारी दिए । यस खण्डमा वाल लगाउने, बेस राख्ने, कल्भर्ट निर्माण लगायत काम भइरहेको छ । साथै, महादेववेँसी लगायत स्थानमा गरी ७ किलोमिटर कालोपत्र भइसकेको उनले बताए । यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा शर्मा/लामा/जेडआइसीजी जेभीले पाएको छ ।
४० किलोमिटर लामो मलेखु-मुग्लिन (तेस्रो खण्ड)को काम भने निकै सुस्त छ । निर्माण अवधि सकिन ८ महिना मात्रै बाँकी रहे पनि हालसम्म भौतिक प्रगति २६.५ प्रतिशत मात्र रहेको पौडले बताए । यस खण्डमा पनि भित्तो कटान, नाला निर्माण, वाल लगाउने, कल्भर्ट बनाउने लगायत काम भइरहेको छ । यस खण्डको ठेक्का शर्मा/जेडआईसीजी जोइन्ट भेन्चरले ४ अर्ब ८० करोड रुपैयाँमा पाएको छ ।
आधा पनि सकिएको छैन सूर्यविनायक-धुलिखेल सडकको काम
अरनिको राजमार्ग सूर्यविनायक-धुलिखेल १६ किमी सडकलाई दुई लेनबाट ६ लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ । विस्तार थालिएको ३ वर्षमा २८ महिना बित्दा यस सडकको आधा पनि काम सकिएको छैन । दुई खण्डमा ठेक्का लगाइएको यस सडकको समग्रमा भौतिक प्रगति ४३ प्रतिशत पुगेको आयोजनाकी सूचना अधिकारी (सीडीई) सजना अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार ८.४ किमी लामो साँगा-धुलिखेल खण्डको ४५ प्रतिशत काम सम्पन्न भएको छ । ‘साँगा-धुलिखेल खण्डको १ किलोमिटर (बाँसधारी-धुलिखेल) कालोपत्रको अन्तिम तयारीमा छौं । ८/१० दिनमै कालोपत्र हुन्छ,’ उनले भनिन्, ‘असारसम्म यसखण्डको ३ किमी कालोपत्र गर्ने लक्ष्य राखेका छौं ।’
यो खण्ड निर्माणको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा पाएको छ ।
त्यस्तै, सूर्यविनायक-साँगा खण्डको पनि ४३ प्रतिशत काम सकिएको उनले बताइन् । यस खण्डमा वाल लगाउने, नाला बनाउने, कल्भर्ट राख्ने, बेस राख्ने लगायत काम भइरहेको उनले बताइन् । यो खण्डको ठेक्का आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभीले ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा पाएको छ ।
२०७९ पुस २४ बाट सुरू गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, हालसम्मको अवस्था हेर्दा समयमै सम्पन्न हुन सक्ने देखिँदैछ ।
यस सडक हुँदै उत्तरी चिनियाँ नाका तातोपानी, दोलखा रामेछाप, ओखलढुंगा लगायत जिल्लामा जाने सवारी साधन चल्छन् । साथै, बीपी राजमार्ग, मध्यपहाही राजमार्ग हुँदै पूर्वी तराई जाने दैनिक १० हजार बढी सवाडी गुड्छन् ।
बीपी राजमार्गमा सवारी चलाउनै मुस्किल
काठमाडौंबाट पूर्वी तराई जाने सबैभन्दा छोटो दूरीको बीपी राजमार्गमा वर्षायाममा सवारी संचालन गर्नै मुस्किल हुने देखिएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त यस सडक हाल अस्थायी रूपमा संचालनमा ल्याइएको छ । हाल
रोशी खोलाको बगर हुँदै सवारी गुडिरहेका छन् । तर, खोलाको सतह बढ्ने बित्तिकै अस्थायी सडकमा सवारी संचालन गर्न सक्ने अवस्था छैन ।

यद्यपि, वर्षायाममा पनि सवारी संचालनका लागि अहिले सडकको उचाइ बढाउने काम भइरहेको छ । सडक डिभिजन भक्तपुरका प्रमुख (सीडीई) सुमन योगेशले दैनिक ३ दर्जन बढी उपकरण प्रयोग गरेर सडकको उचाइ बढाउने काम भइरहेको जानकारी दिए ।
‘वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई ३ देखि ७ मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ,’ उनले भने, ‘ वैशाख मसान्तभित्र ८ किलोमिटर सडकको उचाइ बढाउने लगायतको अस्थायी काम सक्नेछौं ।’
बाढीले क्षतिग्रस्त २९ किलोमिटर सडकलाई सरकारले ४ खण्डमा विभाजन गरी पुननिर्माण गर्ने भएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई ४ खण्डमा पुनर्निर्माण गरिने सडक डिभिजनले जनाएको छ । जसमा नेपाल सरकारले निर्माण गर्ने टुंगो लागेको ३ खण्डको ठेक्का आह्वान भइसकेको छ । एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ ।
काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीबाट चारसय बेँसीसम्मको करिब ११ किलोमिटर, चारसय बेँसीबाट डालाबेँसीसम्मको ८.५ किलोमिटर सडक र सिन्धुलीतर्फ बर्खेखोलाबाट नेपालथोकसम्मको ४ किलोमिटर सडकखण्ड पुनर्निर्माणका टेन्डर आह्वान भइसकेको डिभिजन प्रमुख योगेशले जानकारी दिए । टेन्डर आह्वान भएका खण्डहरूको जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको उनले बताए ।
बीपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि अर्थमन्त्रालयले साढे ८ अर्ब बजेटको स्रोत सुनिश्चित गरिसकेका छ ।
बर्खेखोलाबाट डालाबेँसीसम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)सँग छलफल भइरहेको र जाइकाले स्थलगत अध्ययन गरिरहेको छ । यो खण्डको पुनर्निमार्ण जाइकाले नै गर्ने सम्भावना रहेको उनले बताए ।
हेटौंडा जोड्ने सबै सडक पनि हुँदैनन् तयार
संघीय राजधानी काठमाडौंलाई प्रदेश राजधानी हेटौंडा जोड्ने तीन वटै सडकको अवस्था पनि खराब छ । कान्ति लोकपथ, हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ र थानकोट-चित्लाङ सबै सडक मर्मतको क्रममा छन् । यी कुनै पनि सडक असार अघि नै कालोपत्र भइसक्ने सम्भावना छैन ।

गत असोजको बाढीपहिरोले कान्ति लोकपथको १३ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको थियो । जसमा मकवानपुरको महादेवटार र ललितपुरको बगुवा जोड्ने खोलामा बेलिब्रिज जडानका लागि ठेक्क लगाइसकिएको छ । सडक निर्माणका लागि भने ठेक्का लागेको छैन ।
दशक बित्यो, बनेन पासाङ ल्हामु राजमार्ग
काठमाडौंबाट नुवाकोटको रानीपौवा, त्रिशूली हुँदै उत्तरी नाका रसुवागढी जोड्ने पासाङ ल्हामु राजमार्ग विस्तारको ठेक्का लगाएको ११ वर्ष बित्यो । २०७१ बाट विस्तार थालिएको यो सडक एक दशक बिते पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।
बालाजु-रानीपौवा (१७.१ किमी) र रानीपौवा-त्रिशूली (३४.०९ किमी) दुई खण्डमा ठेक्का लगाइएको थियो । तर, सम्झौता अनुसार काम नभएपछि गत वर्ष ठेक्का तोडेर फेरि नयाँ प्रक्रिया सुरू गरिएको छ । अहिले सुरूमा तीनपिप्ले-रानीपौवा साढे १४ किलोमिटर स्तरोन्नतिको ठेक्का मोतिदान कन्स्ट्रक्सनले ७० करोडमा पाएको छ । २ वर्ष भित्र निर्माण सम्पन्न गर्नुपर्ने यो सडक गत फागुनमा ठेक्का लगाइएको हो । मुड्खु-तीनपिप्ले खण्ड भने यसअघि नै कालोपत्र भइसकेको छ ।
काठमाडौंको साँखु, सीतापाइला, टोखा नाकाबाट पनि सवारी काठमाडौं प्रवेश गर्छन् । यी सडकमा भने तुलनात्मक रूपमा राम्रै छन् । एकाध ठाउँ बाहेक अधिकांश ठाउँमा कालोपत्र गरिएको छ ।