काठमाडौं । बीमा प्राधिकरणले विद्युतीय सवारी (ईभी)का लागि छुट्टै पोलिसी बनाउने भएको छ । प्राधिकरणले ईभीको स्पेयर पाट्र्स, सर्भिसमा लाग्ने खर्च र बिक्री मूल्यलाई आधार बनाएर पोलिसी निर्माण गर्ने भएको हो ।
नाडाका प्रतिनिधिहरूको भेटमा प्राधिकरणका अध्यक्ष शरद ओझाले विद्युतीय साधनको लागि नयाँ बीमा पोलिसी निर्माणमा काम अगाडि बढेको जानकारी दिएका हुन् ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्राधिकरणको टीमसँग छलफल गरेको थियो ।
उक्त छलफलमा नाडाका उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी बीमा नीति नबनेको कारण स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माण गर्नु पर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘विद्युतीय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनु पर्ने हुन्छ ।’
प्राधिकरणले ईभीका लागि बीमा पोलिसी निर्माण गर्दा नाडालाई समेत सहभागी गराउने र पोलिसी सकभर सर्वसुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जनाएको छ ।
नाडाले विद्युतीय सवारी साधनहरूका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकोले न्यूनतम रूपमा दक्षिण एसियाली राष्ट्रहरूमा प्रयोगमा रहेका नीति र अभ्यासहरूको अध्ययन गरी त्यही अनुसार नीति बनाउन प्राधिकरणलाई सहयोग गर्ने जनाएको छ ।
छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी समेतको उपस्थिति थियो । नाडाबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, कार्य समिति सदस्य यमुना श्रेष्ठ र साधारण सदस्य महेश पालसमेतको उपस्थिति थियो ।