के हो सवारी साधनमा प्रयोग हुने ‘कीलेस इग्निसन’ ?

काठमाडौं । दुईपाँग्रे वा वा चारपाँग्रे सवारी साधनमा प्रयोग हुने प्रविधि तीव्र गतिमा परिवर्तन हुँदै गइरहेको छ । कम्पनीहरूले पुराना प्रविधि विस्थापित गर्दै नयाँ आधुनिक र स्मार्ट प्रविधि प्रयोग गर्न थालेका छन् ।

नयाँ प्रविधिको प्रयोगले सवारी साधन एड्भान्स, सुरक्षित, आकर्षक र चलाउन सहज बन्दै गएका छन् । सवारीमा प्रयोग भएको नयाँ फिचर मध्ये एक हो कीलेस इग्निसन (रिमोटबाट चल्ने चाबी) । धातु चाबीको सट्टा अहिले धेरै नयाँ दुईपाँग्रे साधनहरूमा कीलेस इग्निसन प्रयोग हुन थालेको छ ।

अझ विषेशगरी स्कुटरमा । पहिले लक्जरी कारमा मात्र देखिने यो सुविधा अहिले प्रिमियमदेखि सामान्य कम्प्युटर सेग्मेन्टका मोटरसाइकल तथा स्कुटरमा पाइन थालेको हो । यहाँ हामीले कीलेस इग्निसन सिस्टम के हो ? यसले कसरी काम गर्छ । यसको फाइदा र बेफाइदा बारे चर्चा गरेका छौं ।

के हो कीलेस इग्निसन ?

कीलेस इग्निसन सिस्टम भनेको सरल भाषामा डिजिटल चाबी हो । यसलाई स्मार्ट की फोब पनि भनिन्छ । यो सिस्टममा राइडरले चाबी साधनको इग्निसनमा हालेर घुमाइ राख्नु पर्दैन। स्मार्ट की फोब खल्ती वा ब्यागमा भए पुग्छ । साधनले त्यसलाई स्वचालित रूपमा पहिचान गर्छ । यसबाट बटन थिचेर सहजै साधनलाई स्टार्ट गर्न सकिन्छ।

यो प्रणालीले इग्निसन र स्टेरिङ लक अनलक गर्ने काम, अण्डर-सीट स्टोरेज तथा फ्युल ट्यांक लिड खोल्ने, एन्टी-थेफ्ट इमोबिलाइजर सक्रिय गर्ने र पार्किङमा सवारी साधन पत्ता लगाउने आन्सर-ब्याक जस्ता कुरालाई स्मार्ट कीबाटै प्रयोग गर्न सकिन्छ ।

कीलेस इग्निसन ‘स्मार्ट की’ को फाइदा

अटो विज्ञहरूका अनुसार शहरी जीवनशैलीसँग कीलेस इग्निसनले अत्यन्त मेल खान्छ। दैनिक आवत-जावतमा बारम्बार रोक्ने र चलाउने क्रममा चाबी खोज्ने झन्झट हट्दा समय बचत हुन्छ। साथै, स्मार्ट इमोबिलाइजरले चोरीको जोखिम कम गर्नु अर्को ठूलो फाइदा हो।

 

डिजाइनको हिसाबले पनि कीलेस इग्निसनले सवारीलाई नयाँ पहिचान दिएको छ। परम्परागत की होल हट्दा ड्यासबोर्ड अझ सफा र आधुनिक देखिन्छ । जहाँ डिजिटल डिस्प्ले र कनेक्टेड फिचरहरू सहजै समेट्न सकिन्छ।

यसले राइडरलाई बढी सहजता प्रदान गर्छ भने साधन चोरी हुने समस्या पनि घटाउँछ ।

 बेफाइदा

कीलेस इग्निसन सिस्टमसँग केही चुनौती पनि जोडिएर आउँछन् । इलेक्ट्रोनिक सिस्टम जटिल हुने भएकाले मर्मत गर्नु परेको अवस्थामा खर्च महँगो पर्न सक्छ। साथै, स्मार्ट की फोबको ब्याट्री सकिँदा वा सिग्नल अवरोध हुँदा चालक समस्यामा पर्न सक्ने जोखिम पनि रहन्छ।

निष्कर्ष

दुईपाँग्रे सवारी साधनमा प्रविधिको प्रयोग बढ्दै जाँदा आगामी दिनमा कीलेस इग्निसन अझ धेरै मोडेलहरूमा देखिने अपेक्षा गर्न सकिन्छ। कनेक्टेड टेक्नोलोजी, मोबाइल एप इन्टिग्रेसन र अझ एड्भान्स सुरक्षा प्रणालीसँग मिलेर यो प्रविधिले मोटरसाइकल र स्कुटर चलाउन सहज बनाउने देखिन्छ ।


Back_to_top