काठमाडौं । नागरिक एपबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हटेको १ महिनाभन्दा बढी भयो ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड हुँदा अनलाइन प्रणाली ‘ईडीएलभीआरएस’मा क्षति पुगेको थियो । त्यसपछि बन्द भएको लाइसेन्स सम्बन्धी सम्पूर्ण काम अझै खुलेको छैन ।
विभागको डेटा सेन्टर र सर्भरमा क्षति पुगेसँगै नागरिक एपबाट लाइसेन्स सम्बन्धी विवरण पनि हटेको थियो । हालसम्म विभागको अनलाइन प्रणाली संचालनमा नआएकाले लाइसेन्स सम्बन्धी सबै काम अझै ठप्प भएको हो ।
१ महिनादेखि हटेको लाइसेन्स अब फेरि कहिलेदेखि नागरिक एपमा आउँछ त ? यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाका प्रमुख (निर्देशक) केशव खतिवडाले अब तिहार पछिदेखि लाइसेन्सको विवरण नागरिक एपमा देखिने बताउँछन् ।
उनका अनुसार अहिले विभागको अनलाइन प्रणाली संचालनका लागि आवश्यक काम भइरहेको छ । सिंहदरवारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्र (जीआइडीसी)मै डेटा सेन्टर राखी अनलाइन प्रणाली संचालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
‘विभागको अनलाइन प्रणाली संचालनमा नआएसम्म लाइसेन्स नागरिक एपमा देखिँदैन । अहिले सिंहदरवारस्थित जीआइडीसीमै डाटा सेन्टर राखी सर्भर संचालनमा ल्याउने तयारी भइरहेको छ,’ उनले मेरोअटोसँग भने, ‘तिहार र छठको बीचदेखि अनलाइन सिस्टम संचालनमा ल्याउने कोशिस गरिरहेका छौं । सिस्टम चल्ने बित्तिकै लाइसेन्स नागरिक एपमा पनि देखिन्छ ।’
लाइसेन्स सम्बन्धी सम्पूर्ण विवरण विभागको अनलाइन प्रणाली ‘ईडीएलभीआरएस सिस्टम’मा आबद्ध छ । उनले विभागको सर्भर संचालनमा आएपछि देशभरका सबै (४२ वटै) यातायात कार्यालयहरूबाट नयाँ लाइसेन्सको आवेदन लिने र नवीकरण गर्ने सेवा सुचारु गरिने बताए । अहिले देशभर लाइसेन्स सम्बन्धी सबै सेवा ठप्प छ ।
विभागको सर्भर नचल्दा हाल ट्राफिक प्रहरीले अनलाइन मार्फत गरिने कारबाही समेत रोकिएको छ । ट्राफिक प्रहरीले संचालनमा ल्याएको अनलाइन कारबाही (नागरिक एपमा क्यूआर कोड देखाएर ई-चलान जारी गर्ने) र अनलाइन सचेतना कक्षाको एप्लिकेसन प्रोगाम इन्टरफेस (एपीआइ) पनि विभागको प्रणालीसँग आबद्ध छ ।

