काठमाडौं । ट्राफिक प्रहरीले ठूलो आवाज निकाली ध्वनि प्रदूषण गराउने मोटरसाइकल विरुद्ध कारबाही तीव्र पारेको छ ।
बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ठूला आवाज निकाल्ने २०० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, प्रहरीले पर्यटकीय सहर पोखरामा समेत स्वरुप बदली ठूलो आवाज निकाल्ने मोटरसाइकल विरुद्ध ‘अपरेसन ३६५’ अभियान नै चलाएको छ । पोखरामा पनि ठूलो आवाज निकाल्ने १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ठूलो आवाज निकाली सवारी साधन चलाउँदा ध्वनि प्रदूषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारी साधन नचलाउन हुन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सबैमा अनुरोध समेत गरेका छन् ।

