काठमाडौं । सोमबार वर्षे झरिका बीच काठमाडौंको माहोल एकाएक तातियो । कारण थियो संचार माध्यम, राजनीतिक दलका नेताको घर र व्यापारिक प्रतिष्ठानकाे गेटमा शंकास्पद बेबारिसे गाडी भेटिनु ।
तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, बुद्धनगरस्थि अनलाइनखबर, मध्येबानेश्वरस्थित हिमालयन टेलिभिजन, रातोपुलस्थित काँग्रेस सभापति गगन थापा र अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद गाडी भेटिका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले ती गाडी कसले कुन उद्देश्यले छाड्यो भन्ने अहिले अनुसन्धान भइरहेको बताए ।
उनले शंकास्पद अवस्थामा छाडिएका गाडी चेकजाँज गर्दा कुनै सुरक्षा जन्य खतरा हुने वस्तु भने नभेटिएको बताए । ती गाडी क्रेनको सहयतामा उठाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिए ।
‘विभन्नि मिडिया हाउस लगायत स्थानमा शंकास्पद छाडिएका गाडी क्रेनेले उठाएर ट्राफिक प्रहरी कार्यालय ल्याएका छौं । थप अनुसन्धान भइरहेको छ,’ उनले मेरोअटोसँग भने ।
अनुसन्धानकै क्रममा रहेकाले सबै सवारी धनीहरूको विवरण पत्ता लागिनसकेको उनले बताए । यातायात व्यवस्था कार्यालयहरूबाट सम्बन्धित सवारीको कागजात मगाएर सवारीधनी लगायत विवरण पत्ता लगाइने उनको भनाइ छ ।
प्रहरीले अध्ययनकै क्रममा रहेकाे बताए पनि केही सवारी साधनको धनीको विवरण बाहिरएको छ । कान्तिपुर मिडिया हाउस अगाडि राखिएको बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ ।
उक्त गाडी एसटी मोटर्सले किनेकाे देखिएकाे यातायात व्यवस्था कार्यालय स्रोतले जनाएको छ । उक्त गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ । जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारका छोरा हुन् ।
त्यस्तै, हिमालयन टेलिभिजन अगाडि छाडिएको बा१०च १२५५ नम्बरको गाडी काठमाडौंको धुम्बाराहीस्थित डीआर अटोमोटिभ्सको नाममा रहेको पाइएको छ ।
अनलाइनखबरको गेट अगाडि पार्किङ गरिएको बा १२ च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा रहेको भेटिएको छ । उनको बारेमा थप जानकारी आएको छैन ।
त्यस्तै, कांग्रेस सभापति गगन थापाको घर अगाडि छाडिएको बीएसी ९५७५ नम्बर र भाटभटेनी सुपरमार्केट अगाडि भेटिएको गाडीको बारेमा भने हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।


