शंकास्पद गाडी बारे बोल्यो रास्वपा, यस्तो छ भनाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार काठमाडौंका विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर राखिएका शंकास्पद सवारी साधन बारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पाटी महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताका ठाडो उल्लंघन हुन् बताएका हुन् ।

‘राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन हुन्,’ रास्वपाले जारी विज्ञप्तिमा भनिएको छ, ‘एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ ।’

कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू रास्वपालाई स्वीकार्य नहुने भन्दै रास्वपाले घोर भत्र्सना गरेको छ ।

‘स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो र यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध छ। तसर्थ,प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भत्र्सना गर्दछ,’ रास्वपाले भनेको छ ।

यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

रास्वपाले सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल गरेको छ । साथै, सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।


Back_to_top